मनहरी गाउँपालिकामा पशुको कृत्रिम गर्भाधान निःशुल्क
गुगलपाटी संवाददाता मनहरीपशुपालक किसानले पालेका गाइभंैसीको कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिने मनहरी गाउँपालिकाले घोषणा गरेको छ ।
चालू आर्थिक बर्ष २०७५÷७६ को स्वीकृत बजेट तथा कार्यक्रममा पशुपालक किसानहरुका लागि यस्तो व्यवस्था गरिएको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाभित्र पशुपालन गर्ने किसानहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले दुग्ध उत्पादक सहकारी संस्थाहरुमार्फत कृत्रिम गर्भाधान सेवालाई निःशुल्क गर्न लागेको हो ।
यसैगरी गाउँपालिकाले कृषकहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गराउनका लागि अर्गानिक मल खरिदमा अनुदान दिने भएको छ । अर्गानिक मल खरिद गर्दा किसानले ५० प्रतिशत अनुदान प्राप्त गर्नेछन् । यसका लागि गाउँपालिकाले आवश्यक बजेट बिनियोजन गरेको र अब कार्यान्वयनको चरणमा पुगेको जनाएको छ ।
गाउँपालिको सार्बजनिक सूचना जारी गरी किसानलाई अर्गानिक मलमा ५० प्रतिशत अनुदान दिएर रासायिनिक मललाई निरुत्साहित गर्दै लगिने जनाएको छ । यसका लागि गाउँपालिकाभित्र रहेका कृषि सहकारी तथा कृषक समूहहरुलाई परिचालन गरिनेछन । सहकारी र समूहमार्फत अनुदान लिन चाहने किसानहरुले अनुदान लिन सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कृषि सहकारी तथा कृषक समूहहरुको सहजीकरण गरी सुविधा लिन सजिलो पार्ने जनाएको छ ।
मनहरी गाउँपालिकाका किसानहरु मुख्यतः कृषि पेसामा आधारित छन् । वडा नं १, २, ३, ५, ९ र ७ मा परम्परागत खेती हुने गरेको छ भने वडा नं ६ र ८ मा बेमौसमी खेती हुनेगरेको छ ।