स्थानीय पत्रपत्रिकाः प्रदेशमा ३ सय कर्मचारी घटाइयो, मुख्यमन्त्रीको कार्यतालिका सार्वजनिक
गुगलपाटी संवाददाताआज हामीलाई हेटौंडाबाट प्रकाशित हुने दुईवटा मात्र दैनिक पत्रिका प्राप्त भएको छ । हेटौंडा सन्देश र समृद्ध समाज दैनिकले ३ नम्बर प्रदेशका लागि ३ हजार ३ सय ४२ जना कर्मचारी आवश्यक रहेको मन्त्रिपरिषद्को निर्णय सम्बन्धी प्रसङ्गलाई प्राथमिकताका साथ छापेको छ । संघीय सरकारले प्रदेशको लागि निर्धारण गरेको कर्मचारी संख्यामा झण्डै तीन सय जना कम कोटा तोकेर प्रदेश सरकारले माग गरेको सन्देशले लेखेको छ ।
संघीय सरकारले ३ नम्बर प्रदेशमा ३ हजार ६ सय ४२ जना कर्मचारी खटाउने बताए पनि प्रदेश सरकारले भने ३ हजार ३ सय ४२ जना मात्र आवश्यक पर्ने भन्दै ३ सय कर्मचारी संख्या घटाएर माग गरेकोे हो । आजको समृद्ध समाज दैनिकले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका दैनिक कार्यतालिका सार्वजनिक भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । मुख्यमन्त्रीको निजी सचिवालयले सामान्य र नियमित अवस्थामा मुख्यमन्त्रीको कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म मुख्यमन्त्री विभिन्न भेटघाट र छलफलमा व्यस्त हुनेछन् । बिहान ८ बजेदेखि ९ः३० बजेसम्म पार्टीका नेता कार्यकर्ता भेट्ने समय राखिएको छ । आइतबार र शुक्रबार ११ः३० देखि १ः३० बजेसम्म मुख्यमन्त्री कार्यालयमा मन्त्रालयहरुको नीतिगत काम हुनेछ । सोमबार, मंगलबार र बुधबार दिउँसो ३ देखि ४ः३० बजेसम्म सांसदहरुसँग भेटघाट गर्ने समय छुट्याइएको छ ।
शुक्रबार ३ देखि ४ः३० बजेसम्म सञ्चारकर्मीहरुसँग भेटघाटको समय तोकिएको छ । आइतबार साँझ ५ः३० बजेदेखि ७ बजेसम्म निवासमा राजनीतिक व्यक्ति तथा पदाधिकारीसँग भेट गर्ने जनाइएको छ ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाका पहिलो पृष्ठ