हेटौंडाले उठायो साढे १८ करोड राजस्व

गुगलपाटी संवाददाता हेटौंडा
९ भाद्र २०७५ ०१:१८

हेटौंडा उपमहानगरपालिकाले बितेको आर्थिक वर्ष २०७४/७५ मा साढे १८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । विभिन्न शीर्षकमा उपमहानगरले १८ करोड ६१ लख ५४ हजार रुपियाँ राजस्व संकलन गरिएको जनाइएको छ ।

उपमहानगरले गतवर्ष १७ करोड ७० हजार रुपियाँ राजस्व संकलवनको अनुमान गरेकोमा अनुमानभन्दा ९ दशमलव ४६ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको हो । सबैभन्दा बढी राजस्व नक्सापास दस्तुरबाट भएको छ ।

नक्सापासबापत ३ करोड ९० लाख ८० हजार रुपियाँ राजस्व प्राप्त भएको राजस्व शाखाले जनाएको छ । त्यस्तै एकीकृत सम्पति कर शीर्षकमा ३ करोड ५८ लाख ४८ हजार रुपियाँ संकलन भएको छ । अन्य सेवा शुल्कबापत ३ करोड १३ लाख ७४ हजार रुपियाँ प्राप्त भएको उपमहानगरले जनाएको छ । सवारी साधन दर्ता र वार्षिक सवारी करबापत २ करोड १७ लाख ५९ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

सरकारी सम्पति बहालमा लगाएर उपमहानगरले एक करोड ८८ लाख ३८ हजार प्राप्त गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउन महिनामा मात्र ४ करोड राजस्व संकलन गरिसकेको छ । चालु वर्ष १८ करोड ४५ लाख ५५ हजार रुपियाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।

आजको समृद्ध समाज दैनिकमा समाचार छापिएको छ ।