वनकरियाको घर बनाउन प्रदेश सरकारको चासो

गुगलपाटी संवाददाता हेटौंडा
९ भाद्र २०७५ ०१:४१

मकवानपुरमा मात्र बसोबास रहेको लोपोन्मुख बनकरिया समुदायको आवास निर्माणमा प्रदेश ३ सरकारले चासो देखाएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले मनहरी गाउँपालिका ४ मा बस्दै आएका बनकरियालाई सुरक्षित स्थानमा नमूना घर बनाइदिने योजना रहेको सुनाए । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र कतेर छाप्रोमा बस्ने उनीहरुलाई मनहरी गाउँपालिकाको समन्वयमा सोही क्षेत्रमा सुविधायुक्त नमूना बस्ती बनाउने योजना रहेको मुख्यमन्त्री पौडेलले शुक्रबार पत्रकार सम्मेलनमा घोषणा गरेका हुन् ।

बनकरिया बसोबास गर्ने जमिन उनीहरुको होइन । १२ वर्षअघि जिल्ला वन कार्यालयले कबुलियती बनको अवधारणाअनुसार २० वर्षको लागि कमाई गरिखान दिएको थियो । कबुलियती वन क्षेत्र अहिले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ । उनीहरुलाई त्यहाँबाट स्थानान्तरण हुन निकुञ्जले दबाब दिइरहेको छ ।

उनीहरुको नाममा जग्गा नभएका कारण यसअघिका वर्षमा सरकारले वर्षेनि दिने जनता आवास कार्यक्रमअन्तर्गत उनीहरुले घर बनाउन पाएका थिएनन् । ३० देखि ४० लाख रुपियाँ बिनियोजन हुने गरेकोमा त्यसको सुविधा लालपूर्जा हुने चेपाङ समुदायले मात्र पाएका थिए ।

मनहरी गाउँपालिका ४ साविकको हाँडीखोला गाविसको मुसेधापमा बस्दै आएका १८ घरधुरी वनकरिया समुदायले आफ्नो नाममा एकधुर पनि जग्गा नभएकाले सरकारी सुविधाबाट बञ्चित हुँदै आएका छन् ।

अघिल्लो आवमा बनकरियाको निम्ति आवास बनाउने जग्गा खरिद गर्न समिति नै बनेको थियो । समितिले जग्गासमेत खोज्न सकेन । आवासको रकम जग्गा खरिद गर्न सरकारले अनुमति पनि दिएन । बाढीले बनकरिया बस्तीलाई दुवैतिरबाट घेरेको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।