ओपन फुटसलको उपाधि बिजय युथ क्लबको पोल्टामा

गुगलपाटी संवाददाता हेटौंडा,९ भदौ
९ भाद्र २०७५ ०९:३९

शनिबार हेटौँडामा सम्पन्न विरेन्द्र राई स्मृति दोश्रो ओपन फुटसल प्रतियोगिताको उपाधि हेटौँडाको विजय युथ क्लबले जितेको छ ।
हेटौँडा फुटसलमा भएको खेलमा हेटौँडाकै इन्टरनेट सिटीलाई ११–१ गोलअन्तरले पराजित गर्दै विजय युथ क्लबले दोश्रो सिजनको उपाधिमा कब्जा जमाएको हो ।

हेटौँडाको एफसी मल्टिभिजनको आयोजना भएको प्रतियोगिताको उपाधि विजेता विजय युथले नगद ५० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता सिटीले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रममा फुटसल संघका केन्द्रीय अध्यक्ष धावा लामा तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सीना, एनफाका मार्केटिङ एण्ड एजुकेशनल समितिका सदस्य दिपेन्द्र ढकाल, हेटौँडा फुटसलका यम सिलवाल, स्वर्गिय राइकी पत्नी अनिता राई सहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

मकवानपुरे फुटबलका हस्ती स्वर्गिय विरेन्द्र राईको स्मृतिमा गतवर्षबाट ओपन फुटसल हुँदै आएकोमा यो वर्षबाट भने हेटौँडाको एफसी मल्टिभिजनले प्रतियोगिताको आयोजना गरेको र अबका वर्षहरुमा मल्टिभिजनलेनै प्रतियोगिता गर्ने क्लबका अध्यक्ष विकेशलाल श्रेष्ठले बताए ।