स्थानीय पत्रपत्रिकाः सहरबाट गाउँ भित्रियो ३९ करोड, वनकरियालाई घर बनाइदिने मुख्यमन्त्रीको आश्वासन
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडाबाट प्रकाशित दैनिक पत्रपत्रिकाले आज फरक फरक विषयलाई प्राथमिकताको साथ समाचार बनाएर छापेको छ । आजको साझाकुरा दैनिकले मातृभूमि साहित्य समाजले एकै मञ्चबाट आधा दर्जन पुरस्कार वितरण गरेको समाचारलाई प्राथमिकताको साथ छापेको छ । फुटसल प्रतियोगिताको उपाधि बिजय युथ क्लव हेटौंडाले जितेको समाचार पनि साझाकुराले पहिलो पृष्ठमै छापेको छ ।
आजको प्रदेश दैनिकले एक वर्षमा दूध विक्रीबाट मकवानपुरमा ३९ करोड रुपियाँ सहरबाट गाउँमा पुग्ने गरेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । सहकारी मार्फत् व्यावसायिक कारोबार गर्दै आएका किसानहरुले आर्थिक वर्ष ०७४/०७५ मा दूध बिक्री गरेर ३९ करोड रुपैयाँ शहरको पूँजी गाउँ भित्रयाएका छन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा दुध विक्रीबाट किसानहरुले ३९ करोड ९३ लाख १८ हजार २ सय ३० रुपैयाँ शहरको पूँजी गाउँ भित्रयाएको जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरले जनाएको छ ।
मकवानपुर जिल्लामा दूध बिक्रीबाट प्राप्त हुने रकमको आधा हिस्सा मकवानपुरगढी गाउँपालिका, भिमफेदी गाउँपालिका तथा हेटौंडा उपमहानगरको क्षेत्रले ओगटेको कार्यालयले बताएको छ । संघमा आवद्ध रहेका संस्थाबाट ८८ लाख २० हजार १ सय ६८ लिटर दूध संकलन गरी संघले एकद्वार प्रणालीमार्फत विक्री वितरण गरेको संघका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिए ।
त्यस्तै हेटौंडा सन्देश दैनिकले मकवानपुरमा दुई दर्जन चिनियाँ उद्योगले स्थापना अनुमति मागेको खबर प्राथमिकताको साथ छापेको छ । चिनियाँ कम्पनीले छुट्टा छुट्टै स्थानमा उद्योगहरु खोल्न चाहेपछि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मनहरी–६ जोगिताल सुनाचुरीमा जग्गा अवलोकनको लागि पुगेका छन् ।
चिनियाँ कम्पनीको उद्योग खोल्न छुट्टै स्थान आवश्यक पर्ने र दुई दर्जनभन्दा बढी उद्योग खोल्न अनुमति मागेकाले सुनाचुरी क्षेत्रमा उद्योगको लागि जग्गा हेरिएको हो ।
हाँडीखोलामा रहेको लोपोन्मुख बनकरिया समुदायलाई एकीकृत बस्तीमा सार्ने प्रदेश मुख्यमन्त्रीको भनाइलाई आजको समृद्ध समाजले मुख्य समाचार बनाएको छ । पर्सा बन्यजन्तु आरक्षको क्षेत्रमा बसोबास गरिरहेका २० घर बनकिरया समुदायलाइ मनहरी गाउँपालिकाभित्रै जग्गा खोजेर घर बनाइदिने पौडेलले शनिबार अवलोकनपछि आश्वासन दिएका छन् ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ