झोलुङ्गे पुल बनेपछि गाउँलेमा खुसीयाली

गुगलपाटी संवाददाता हेटौंडा
१० भाद्र २०७५ ०२:२८

झोलुङ्गे पुल सञ्चालनमा आएपछि हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका बासिन्दा खुसी भएका छन् ।

बिहानभरी कृषिकर्म गरेर आएकी सानुटारकी ५५ वर्षीया लिलामाया थोकर नवनिर्मित झोलुङ्गे पुलबाट वारपार गर्दै भनिन्–‘अब वारीपार गर्न सजिलो भयो, बोकेदहमा पुल नभएर समस्या भइरहेको थियो ।’ गतवर्ष साउनमा किसेडी खोला तरेर हेटौंडा आउन लाग्दा घ्याङसिटारकी महिलाको बगाएर मृत्यु भएको थियो । पुल अभावले वर्षेनि १–२ जनाको ज्यान जान्थ्यो ।

‘किसेडी खोलाको बोकेदहमा झोलुङ्गे पल बनेपछि खोलाले बगाएर अब यस क्षेत्रका बासिन्दाको ज्या जाँदैन होला ।’ स्थानीय लोकबहादुर घिसिङले भने ‘यो झोलुङ्गे पुल हाम्रो लागि मोटर हिँडेभन्दा महत्वपूर्ण भएको छ ।’ हेटौंडा–१ र भीमफेदी गाउँपालिका १ मा पर्ने बोकेदहमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको ‘स्वाप’ले जिल्ला समन्वय समितिमार्फत पुल बनाएको हो ।

पुलको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले शुक्रबार उद्घाटन गरेकी थिइन् । यो पुलबाट हेटौंडा–१ का नकौली, घ्याङ्सीङटार, ज्यामिरे थरथरे र भीमफेदी गाउँपालिका–१ सानुटारका गरी ७ सय १२ घरका बासिन्दा लाभान्वित भएका छन् ।

गत आवमा मकवानपुरमा ४ वटा झोलुङे पुल र १ वटा पक्की पुल बनेको छ । गत वर्ष ६ वटा झोलुङे पुल र ५ वटा पक्की पुल निर्माण सुरु भएको थियो ।

आजको कान्तिपुर दैनिकमा हेटौंडाबाट प्रताप विष्टले समाचार लेखेका छन् ।