स्थानीय पत्रपत्रिकाः अंशबन्डाको नाममा निर्बाध प्लटिङ, कति खप्ने अघोषित लोडसेडिङ ?

गुगलपाटी संवाददाता हेटौंडा
११ भाद्र २०७५ ०१:२०

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेको छ । आजको साझाकुरा दैनिकले भूकम्पपछिको पुननिर्माणको लागि जग्गा खरिदमा अनुदान माग्नेमा मनहरी गाउँपालिकाका लाभग्राही बढी रहेको तथ्याङ्कसहितको समाचार छापेको छ । मकवानपुरका ९७ जना भूमिहीन भूकम्पपीडितले जग्गा खरिदको अनुदान माग गरेकोमा मनहरी गाउँपालिकाको मात्र ६२ जना रहेका छन् ।

त्यस्तै अंशबन्डाको नाममा हेटौंडामा निर्बाध रुपमा प्लटिङ भइरहेको समाचार पनि साझाकुराले छापेको छ । हेटौंडा उपमहानगरपालिकाले खेतीयोग्य जमिन प्लटिङमा रोक लगाए पनि पछिल्लो समय अंशबन्डाका नाममा चिराचिरा पारेर बिक्री गर्ने गरेको पाइएको छ ।

यसमा मालपोतका कर्मचारीको पनि मिलेमतो रहेको आरोप छ । हेटौंडा–१३ ठूलोथलीमा अंशबन्डाको नाममा धेरै जग्गा प्लटिङ हुन थालेको स्थानीयको गुनासोपछि तथ्य बाहिर आएको हो ।

त्यस्तै आजको  प्रदेश दैनिकले अघोषित लोडसेडिङले सर्वसाधारणदेखि उद्योगी व्यवसायीसमेत मारमा परिरहेको समाचारलाई प्रमुख समाचार बनाएको छ । प्राधिकरणले पछिल्लो समय अघोषित रुपमा लोडसेडिङ गरिरहेको भए पनि सरोकारवाला भने मौन छन् ।

राजनीतिकदलले समस्याको समाधान गर्न नलागेको भन्दै सर्वसाधारण र उद्योगीले आक्रोश व्यक्त गरेका छन् । नेपाल नै लोडसेडिङमुक्त घोषणा भइसकेको बेला दैनिक १०–१२ पटकसम्म अनियमित रुपमा बिजुली काटिन थालेपछि उपभोक्ताले हैरानी खेप्नु परिरहेको छ ।

त्यस्तै आजको हेटौंडा सन्देश दैनिकले लेउ लागेको र पुरानो भएको अस्तव्यस्त वडा कार्यालयको समाचार छापेको छ । हेटौंडा–१७ मा गाविस चोक भन्ने ठाउँमा एउटा पुरानो घर देखिन्छ । जहा कसैले वर्षौ छाडेको जस्तो देखिने भवन छ ।

त्यहाँ घाँसपातका लहरा, पुराना होर्डिङ बोर्डहरु यताउती ढल्किएको अवस्थामा रहेको छ । लाग्छ १०/१५ वर्षअघि त्यो घर कसैले छाडिसकेका हुन् । तर, त्यस्तो होइन । उक्त घर हेटौंडा– १७ नम्बर वडा कार्यालयको हो जुन प्रयोगमा छ । भवन पुरानो र लेउ लागेको मात्र हैन नागरिक वडापत्रसमेत मेटिएको छ ।

त्यस्तै आजको समृद्ध समाज दैनिकले प्रदेश सरकारले कानुन निर्माणमा तीव्रता दिएको समाचार प्रकाशन गरेको छ । ३ नम्बर प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कानुन निर्माणको कार्यमा तीव्रता देखाएको छ ।

मन्त्रालयले हालसम्म १३ वटा नयाँ कानुन पहिचान भएका मध्ये प्रदेशसभामा एउटा विधेयक दर्ता गरेको छ भने एउटा विधेयक सैद्धान्तिक सहमतिपछि स्वीकृत भएर छलफलको चरणमा रहेको जनाइएको छ ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ