स्थानीय पत्रपत्रिकाः बढे पत्नी पीडित पुरुष, नगरभित्रै ७० कटेपछि नागरिकता
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडाबाट आज प्रकाशित भएका दैनिक पत्रिकाले फरकफरक विषयलाई आफ्नो मुख्य समाचार बनाएका छन् ।
आजको साझाकुरा दैनिकले नयाँ मुलुकी संहिता लागू भएसँगै पत्नीपीडित पुरुषहरु पनि सम्बन्ध विच्छेदको लागि अदालत धाउन थालेको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । भदौ १ गतेदेखि लागू भएको संहितामा पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था भएपछि ११ दिनको अवधिमा जिल्ला अदालत मकवानपुरमा ७ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको समाचारमा जनाइएको छ ।
११ दिनको अवधिमा जम्मा ११ वटा सम्बन्ध विच्छेदको मुद्दा परेकोमा ७ वटा भने पुरुषले नै दर्ता गराएका थिए । पछिल्ला वर्षहरुमा मकवानपुरमा सम्बन्ध विच्छेदको घटना बढ्दै गएको अदालतको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै समृद्ध समाज दैनिकले हेटौंडा उपमहानगरभित्रकै नागरिकले वृद्धावस्था हुँदासम्म नागरिकता नलिएको/नदिइएको प्रशङ्गलाई मुख्य समाचार बनाएको छ । १६ वर्ष पूरा भएपछि नागरिकताको प्रमाणपत्र लिन सकिन्छ । नागरिकता सामान्य परिचयपत्र मात्र नभई महत्वपूर्ण कानुनी दस्तावेज पनि हो ।
तर, नागरिकता जस्तो महत्वपूर्ण प्रमाण लिन उपमहानगरभित्रकै बासिन्दाले चासो नदेखाउनु आश्चार्य बनेको छ । ७० वर्षको उमेर कट्दा पनि नागरिकताको प्रमाणपत्र नलिएको पाइएको छ । हेटौंडा १२ का प्रौढ तथा वृद्ध गरी ४ जनालाई सोमबार नागरिकता दिइएको छ ।
त्यस्तै आजको हेटौंडा सन्देश दैनिकले नयाँ संहिता लागू भएसँगै कानुन व्यवसायीहरु त्यसको अध्ययनमा व्यस्त भएको समाचार छापेको छ । कानुनी अभ्यासका क्रममा कानुन व्यवसायीहरुले बिहान बेलुका मात्र अध्ययन गर्ने गरेकोमा अहिले दिउँसोमा पनि फर्सद निकालेर अध्ययन गर्न थालेका छन् । हाल झोलाका कानुनका किताब अनिवार्य बोकेर हिँड्ने गर्छन् उनीहरु ।
प्रदेश दैनिकले कैलाश गाउँपालिका १ नम्बर वडामा तालाबन्दी गरिएको समाचार छापेको छ । वडा अध्यक्षले मनलाग्दी गरेको र नागरिकको गुनासो नसुनेको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा अध्यक्ष पेमा योञ्जनले गाउँपालिकाको बजेटमा समानुपातिक र न्यायोचित वितरण नगरेकोलगायतको आरोप लगाई स्थानीयले तालाबन्दी गरेका हुन् ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाका पहिलो पृष्ठ