स्थानीय पत्रपत्रिकाः सुरुङमार्गको लगानी ‘बालुवामा पानी’
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक प्रसङ्गलाई मुख्य समाचारको रुपमा उठान गरेको छ ।
आजको साझाकुरा दैनिकले सरकारले नेपाल पूर्वाधार विकास कम्पनीसँग गरेको सुरुङमार्ग निर्माणको सम्झौता खारेज गर्न लागेको प्रसङ्गलाई मुख्य समाचार बनाएको छ । २०६९ सालदेखि निर्माण सुरु गरेर २०७४ सालमा निर्माण सम्पन्न गर्नेगरी नेपाल पूर्वाधार विकास कम्पनीले ६ वर्ष बितिसक्दा पनि सुरुङको डोबसमेत खनेको छैन ।
कम्पनीले सुरुङमार्ग नबनाउने दाबीसहित ३ नमबर प्रदेश सरकार आफैंले सुरुङमार्ग निर्माण गर्न तयार भएको छ । यसको लागि नेपाल पूर्वाधार विकास कम्पनीसँगको सम्झौता खारेज गर्न प्रदेश सरकारले केन्द्र सरकारलाई पत्र लेखेसँगै सर्वसाधारणसँग उठाइएको करोडौं रकम बालुवामा पानी हुने देखिएको छ । सर्वसाधारणसँग उठाइएको ३१ करोड रुपियाँ जोखिममा परेको छ ।
आजको हेटौंडा सन्देश दैनिकले हेटौंडालाई अझ सुन्दर बनाउन नागरिकजनको सुझावलाई प्रमुख समाचार बनाएको छ । मेडिकल, अस्पताल, विद्यालय, शौचालय, कहँ बनाउने र रुख बिरुवा कहाँकहाँ रोप्ने भन्ने बारेमा विस्तृत अध्ययन आवश्यक रहेको जनाइएको छ । फूलैफूलको सहर बनाउने अभियानका साथ तीव्र गतिमा काम भइरहको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।
आजको समृद्ध समाज दैनिकले ३ नम्बर प्रदेशमा ३ वटा दिवस मनाउने तयारी भएको समाचार छापिएको छ । ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले भदौ महिनामा पर्ने ३ वटा अन्तर्राष्ट्रिय दिवसलाई प्रदेशस्तरबाट मनाउने निर्णय गरेको छ । भदौ २० गने मानव ओसारपसार विरुद्धको राष्ट्रिय दिवस, २३ गते राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस र भदौ २९ गते राष्ट्रिय बाल दिवस प्रदेशस्तरबाट भव्य मनाउने तयारी गरिएको जनाइएको छ ।
आजको प्रदेश दैनिकले रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा जागरुक महिला सम्मान भन्दै २ जना महिलालाई सम्मान गर्न लागेको समाचार छापेको छ । रेडियो मकवानपुरलेले हरेक वर्षझै यसवर्ष पनि भदौ २३ गते एक कार्यक्रमको आयोजना गरी समाजमा महत्वपूर्ण योगदान गर्ने दुईजना महिलालाई सम्मान गर्न लागेको हो ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाका पहिलो पृष्ठ