हेटौँडामा तोङ्ग ईल मोदोको बेल्ट प्रमोसन तथा दुई दिने वर्कशप सम्पन्न
गुगलपाटी संवाददाता हेटौँडातोङ्ग ईल मोदो संघ मकवानपुर शाखाको आयोजनामा दुई दिने स्पेशल टेक्निक सम्बन्धी वर्कशप तथा बेल्ट प्रमोशन मंगलबार हेटौँडामा सम्पन्न भएको छ ।
भदौ ११ गते र १२ गते सम्पन्न कार्यक्रममा १२ जना खेलाडीहरुको बेल्ट प्रमोसन समेत गरिएको थियो । वर्कशपमा तोङ्ग ईल मोदो महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा अन्तराष्ट्रिय प्रशिक्षक प्रकाश श्रेष्ठले प्रशिक्षण दिएको कार्प मकवानपुरका संयोजक सुवाश लामाले जानकारी दिए । वर्कशपद्वारा मकवानपुरमा तोङ्ग ईल मोदो खेलको विकास गर्ने उदेश्यले कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।
के हो तोङ्ग इल मोदो ?
तोङ्ग ईल मोदो (द ओए अफ युनिफाईड मार्सल आर्टस्) शान्तिको लागि खेल भन्ने मुल मान्यताका साथ खेलिने खेल हो । यो खेल नेपालको २५ वटा जिल्लामा दर्ता भएर खेलाईन्छ भने अहिले ४० वटा जिल्लामा विकास र विस्तार भइरहेको छ । त्यस्तै विश्वमा ४० वटा देशमा यो खेल हुने गरेको छ । नेपालमा २०६९ सालमा नेपाल राष्ट्रिय खेलकुद परिषदमा १२८ नम्बरमा दर्ता भएको यस खेलको माग देशको ७७ वटै जिल्लामा भइरहेको छ ।
यो खेल विश्वमा खेलिने खेलहरुको परिस्कृत, समय सान्दर्भिक र वैज्ञानिक कलालाई समायोजन गरेर मार्सल आर्ट स्थापनाको मौलिकतालाई थपेर बनेको खेल हो । शान्तिका लागि खेल, स्वास्थ्यका लागि खेल र राष्ट्रको लागि खेल भन्ने उदेश्यको साथ खेलिने यो खेल विशेष गरी युवाहरुलाई नैतिकवान, चरित्रवान, जीम्मेवार नागरिक, स्वस्थ र सभ्य व्यक्ति बनाउन सफल भइरहेको खेलका प्रशिक्षकहरु दाबी गर्छन् । साथै यस खेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा भएका प्रतियोगितामा खेलाडीहरु नेपालबाट सहभागी गराएर राष्ट्रको लागि गर्व र सम्मान स्वरुप पदकहरु जित्दै आईरहेको समेत उनीहरु बताउँछन् ।