स्थानीय पत्रपत्रिका: बढ्यो मकवानपुरमा पनि बलात्कारको घटना, सडक नाली नै बगाउने डर

गुगलपाटी संवाददाता हेटौंडा
१४ भाद्र २०७५ ०१:४२

हेटौंडाबाट प्रकाशित आजका पत्रपत्रिकाले फरकफरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएका छन् ।

आजको साझाकुरा दैनिकले मकवानपुरमा पनि बलात्कारको घटना वर्षेनि बढेको समाचार मुख्य समाचार बनाएर छापेको छ । बलात्कारको घटनामा अधिकांश बालिका पीडित हुने गरेको पनि तथ्याङ्कले देखाएको छ । मकवानपुरमा गतवर्ष ५० वटा बलात्कारसम्बन्धीे उजुरी जिल्ला अदालत मकवानपुरमा परेको छ ।

आर्थिक वर्ष ०७३/७४ मा पनि मकवानपुरमा ३१ वटा बलात्कारसम्बन्धी उजुरी दर्ता भएका थिए । चालु वर्षको साउन महिनामा मात्र ५ वटा बलात्कारको मुद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ । अशिक्षा र गरिबीको कारण बलात्कारको घटना बढी हुँदै गएको सिविन बाल हेल्प लाइन हेटौंडाका कार्यक्रम संयोजक झवीन्द्र ज्ञवालीले जानकार िदिए ।

त्यस्तै हेटौंडा सन्देश दैनिकले हेटौंडादेखि ललितपुरसम्म्को कान्तिलोकपथ विस्तारको क्रममा ठेकेदार कम्पनी जिम्मेवार नहुँदा त्यस क्षेत्रका नागरिकले सास्ी खेप्नुपरेको समाचार छापेको छ । ललितपुर हेटौंडा सडकमा १४ वटा ठेकेदार कम्पनीले ठेक्का लिएका छन् । सडकमा बनाएको पर्खाल पनि कच्चा रहेको र नालीबाट बग्ने पानीले नाली नै बगाउने खतरा रहेको छ ।

समृद्ध समाज दैनिकले हेटौंडा ५ निवासी देव प्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठको परिवारले मानवसेवा आश्रमको भवन निर्माणको लागि ५ लाख रुपियाँ आर्थिक सहयोग गरेको समाचार छापेको छ । ३ नम्बर प्रदेशको कृषि समितिको बैठक हिजोबाट सुरु भएको र प्रदेश दुग्ध विकास बोर्डको स्थापनाको लागि बनेको विधेयकमाथि दफाबार छलफल सुरु भएको समाचार पनि समृद्धमा छापिएको छ ।

आजको प्रदेश दैनिकले दुईवर्षदेखि शिक्षक नपाएपछि कैलाश गाउँपालिकाको एक विद्यालयका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेको समाचार छापेको छ ।

कैलाश ३ कालिकाटारमा रहेको भवानी माविमा दुईवर्षदेखि गणित शिक्षक नभएको भन्दै विद्यार्थीले हिजो तालाबन्दी गरेका छन् ।

हेर्नुहोस्, हेटौंडाबाट प्रकाशित आजको दैनिक पत्रिकाको पहिलोे पृष्ठ