१५ विधेयक अलपत्र, सभामुख चीन जाँदै
गुगलपाटी संवाददातामौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झन्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्नेमा सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकै रोकेर विदेश जाने तयारीमा छन् ।
‘तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पो’ मा सहभागी हुन उनी १० सदस्यीय टोली लिएर आगामी २२ गते चीनको ल्हासा जान लागेका हुन् । टोली २७ गते फर्किने कार्यक्रम छ । सभामुखको निजी सचिवालयले महरा चीन जान लागेको पुष्टि गर्यो । ‘चीन जाने कार्यक्रम तय भएको छ,’ सभामुखका प्रेस विज्ञ डिल्ली मल्लले भने । टोलीमा नेकपाकी शान्तिमाया तामाङ, हेमकुमार राई, कांग्रेसकी रंगमती शाही, फोरमका उमाशंकरप्रसाद अरगरिया र राजपाका एकवाल मियाँलगायत ६ जना सांसद छन् ।
असोज २ सम्म मौलिक हकसम्बन्धी १५ वटा विधेयक संसद्ले पारित गरी प्रमाणीकरण भइसक्नुपर्छ । बल्ल एउटा विधेयकमा दफावार छलफल सुरु भएको छ । संविधानको धारा ४७ मा संविधान जारी भएको तीन वर्षमा मौलिक हक कार्यान्वयन गर्ने कानुन बनाइसक्नुपर्ने अनिवार्य व्यवस्था छ । आगामी असोज ३ गते तीन वर्ष पुग्दै छ । तर बिमस्टेक सम्मेलन र सभामुखको विदेश भ्रमणका कारण प्रतिनिधिसभा बैठक जम्मा आठ दिन बस्न सक्छ ।
बिमस्टेककै लागि मंगलबारदेखि १८ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । सभामुख चीन उड्नुअघि जम्मा ३ दिन बैठक बस्ने समय छ । फर्केपछि पनि जम्मा ५ दिन समय रहन्छ । यो अवधिमा सबै विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्छ । प्रतिनिधिसभाबाट उत्पत्ति भएका मौलिक हकसम्बन्धी ११ वटा विधेयक राष्ट्रिय सभाबाट समेत पारित गराउनुपर्छ । त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति चारवटा विधेयक प्रतिनिधिसभाबाट पनि पारित गर्नुपर्छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।