काठमाडौंमा आएका मोदीले के भने ? यो पढ्नुहोस्

गुगलपाटी संवाददाता काठमाडौँ
१४ भाद्र २०७५ १२:०१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसहितका छिमेकी मुलुकसँग भारत काँधमा काँध मिलाएर हिँड्न तयार रहेको बताएका छन् ।

राजधानीमा बिहीबार अपरान्ह सुरु भएको बिम्स्टेकको चौथो सम्मेलनलाई सम्बोधन गर्दै प्रम मोदीले आफ्नो पुरानै शैलीमा छिमेकी देशसँग काँधमा काँध मिलाएर हिँड्न भारत तयार रहेको बताएका हुन् ।

‘बिम्स्टेकको सम्मेलन आयोजना गर्नुभएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली जनतामा धन्यवाद दिन चहान्छु’, मोदीले भने, ‘प्रधानमन्त्री ओलीसहित भारत काँधमा काँध मिलाएर हिँड्न तयार छ ।’

प्रधानमन्त्री मोदीले बंगालको खाडीको क्षेत्रको विकास सबै सदस्य राष्ट्रका लागि जरुरी रहेको पनि बताएका छन् ।

‘यो क्षेत्रको विकास हामी सबैको लागि जरुरी छ । सबैभन्दा ठुलो कुरा कनेक्टिभीट हो । पिपुल टु पिपुल कनेक्टिभिटी अझै महत्वपूर्ण हो’। मोदीले भने, ‘हामीबीच सम्पर्क बढाउनका लागि विभिन्न क्षेत्रमा सहकार्य जरुरी छ । हामी सबै देश क्लाइमेट चेन्जको संकटसँग जुधिरहेका छौँ । डिजिटल कनेक्टिभीटिमा पनि हामीले मिलेर काम गर्नुछ ।’

बौद्ध धर्मको चिन्तन सबै सदस्य देशको साझा मान्यता रहेको बताउँदै मोदीले भारतले आईटेक कार्यक्रममार्फत् पर्यटन प्रविधिमा लगानी बढाउने पनि बताए । मोदीले आर्थिक प्रगतिका लागि आतंकवाद चुनौती रहेको पनि इंगित गरे ।

‘आर्थिक प्रगति र समृद्धिका लागि हाम्रो क्षेत्रमा शान्ति र सुरक्षाको वातावरण चाहिएको छ’, मोदीले भने, ‘हिमालय र बंगालको खाडीसम्मका सबै देशले आतंकवाद, बाढी, आँधी र भूकम्प झेलेका छन् । यसैले हामीबीच सहयोगको एकदमै आवश्यकता छ ।’

मोदीले अबको समयमा डिजिटल युग र साइबर इकोनोमी महत्वपूर्ण रहेको उल्लेख गरे । ‘आतंकवादबाट सबै देशका समस्यामा हुन्, लागू औष्धको पनि समस्या छ’, उनले भने, ‘यो समस्या एक देशको मात्रै होइन, त्यसैले यी समस्यासँग जुध्न हामीले हामीले अझै धेरै काम गर्न बाँकी छ ।’