मनहरीमा तीजको रौनक लाग्यो

जयराम मोक्तान मनहरी,१६ भदौ
१६ भाद्र २०७५ १३:४४

मनहरी महिला मञ्चले मनायो तीज मनहरी–महिलाहरुको महान् पर्व हरितालिका तीजको अबसर पारेर मनहरी ७ मनकामना मन्दिरमा महिलाहरुले नाचगान गर्दै दर खाएर महिलाहरु तीज मनाएका छन् । मनहरी महिला मञ्चद्वारा आयोजित बिशेष तीज कार्यक्रममा सहभागी भएर महिलाहरुले नाचगानमा रमाउने अबसर पाएका हुन् । यो बर्षको तीज बिशेष कार्यक्रम मञ्चले यस क्षेत्रमा पहिलोपटक आयोजना गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ३ नं प्रदेश सांसद एबम् नेपाल कम्युनिष्ट पार्टीकी नेता कुमारी मोक्तानले एक्काइशौँ शताब्दीमा तीजमा खाली पेट निराहार ब्रत बस्नु त्यति सान्दर्भिक नहुने तर्क राखेकी छिन् । उनले आफ्नो स्वास्थ्यको ख्याल राखेर मात्र ब्रत बस्नका लागि महिलाहरुलाई अनुरोध गरिन् । धर्म र पुण्य प्राप्तिका लागि शरीर भन्दा पनि मन र सोचाईलाई सफा राख्नुपर्नेमा उनेको भनाई थियो ।
कार्यक्रममा बोल्दै पूर्व सांसद राजाराम स्याङ्तानले मनहरी मञ्चले सामूहिक रुपमा तीज मनाउने अबसर दिदीबहिनीहरुका लागि दिएकोमा धन्यवाद दिँदै महिला हिंसा र घरेलु हिंसाका बिरुद्ध पनि मञ्चले लडाइँ लड्नुपर्ने अबस्था आएको बताए । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरी महिला मञ्चले राम्रो कामको सुरुवात गरेको भन्दै सरकारले राम्रा काम गर्दा गर्दै पनि अनाबश्यक हल्ला मच्चाइएकाले त्यसको भण्डाफोर गर्न महिलाहरुलाई आग्रह गरे ।
कार्यक्रममा मञ्चकी उपाध्यक्ष मीरा मल्लले स्वागत गरेकी थिइन् । मञ्चकी अध्यक्ष इन्द्रकुमारी मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, अधिबक्ता मदनकुमार दाहाल, पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रघुनाथ रुम्बा, साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष बिमला कार्की, सृजनशील युवा समाजका अध्यक्ष नारायण श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।