स्थानीय पत्रपत्रिकाः ‘सरकारलाई असफल बनाउने षड्यन्त्रले बलात्कार’

गुगलपाटी संवाददाता
१७ भाद्र २०७५ ०१:३६

आज हेटौंडाबाट प्रकशित दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई मुख्य समाचार बनाएका छन् ।

आजको साझाकुरा दैनिकमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक तीज कार्यक्रममा गरेको भाषणसम्बन्धी समाचारलाई पहिलो पृष्ठमा छापेको छ । अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले दिनानुदिन बढ्दै गएको बलात्कारको घटना सरकारलाई असफल बनाउने नियोजित षड्यन्त्र भएको आरोप लगाएका छन् ।

दैनिकजसो बालिका तथा महिला बलात्कारको घटना हुनु वर्तमान सरकारविरुद्ध कसैको षड्यन्त्र भएको उनको दावी थियो । प्रदेश ३ लाई बहुबिवाह, दाइजो र बालबिवाहमुक्त गर्न आफूहरु लागिपरेको समेत मुख्यमन्त्रीले बताए ।

आजको हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशको राजधानी सम्भाव्यता समिति गठनको विरुद्ध परेको रिटविरुद्ध प्रदेश मुख्यमन्त्रीलगायतले अदालतमा दिएको जवाफ सम्बन्धी प्रसङ्गलाई मुख्य समाचार बनाएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री, सभामुख र विपक्षी दलका नेताले राजधानीको विषयमा परेको रिट खारेज हुनुपर्ने जवाफ अदालतमा पेश गरेका छन् ।

आजको समृद्ध समाज दैनिकले तीजलाई भड्किलो बनाउन नहुने मुख्यमन्त्रीको भनाईलाई पहिलो पृष्ठमा छापेको छ । त्यस्तै ३ नम्बर प्रदेशको प्रदेशसभाको बैठक आज हुने समाचार पनि छापिएको छ । आजको बैठकमा २ प्रतिवेदन पेश हुनेछ भने ३ विधेयक पनि समितिमा जानेछ ।

आजको प्रदेश दैनिकले वडा कार्यालयलाई तरुण नेताले जग्गा दान गरेको खबर पहिलो पृष्ठमा छापेको छ । नेपाल तरुण दल मकवानपुरका उपाध्यक्ष रामकुमार रायमाझी हाराले मनहरी गाउँपालिका–१ नम्बर वडाको भवन निर्माणका लागि १६ लाख मूल्य बराबरको कट्ठा जग्गा दान गरेका छन् ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाका पहिलो पृष्ठ