केही मन्त्रीहरुको पद धरापमा : प्रचण्डले गरे खुलासा

गुगलपाटी संवाददाता काठमाडौं
१९ भाद्र २०७५ १४:२१

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा पूरा गर्ने सम्बन्धमा सरकारका मन्त्रीहरूको फेरबदल हुनसक्ने बताएका छन् । देश र जनताका अपेक्षासामु व्यक्ति गौण हुने उनको भनाइ छ ।
आफ्नै निवास खुमलटारमो पत्रकारहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले जनताको अपेक्षा अनुसारको काम गर्नका लागि आवश्यक परे मन्त्रीहरूको हेरफेर हुनसक्ने बताएका हुन् ।
प्रचण्डले जनताको पक्षमा काम गर्न नसक्ने दुईचार जना मन्त्री हट्न सक्ने संकेत पनि गरे । तर कुनकुन मन्त्री हटाउन लागिएको भन्ने चाहि खुलाएनन् । यसले तत्कालिन माओवादी केन्द्रबाट मन्त्री भएापछि हट्न सक्ने संकेत गरेका छन् ।
‘पहिलेको सरकार र कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमतको सरकारका बीचमा के फरक भयो ? जनतामा निराशा भयो भन्ने खालका गुनासा आएका छन्,’ प्रचण्डले भने, ‘धेरै टिप्पणी गरेर समस्या समाधान त हुँदैन । तर सरकारको समीक्षा गर्ने बेला भयो भनेर दुई अध्यक्षबीच गम्भीर छलफल र समीक्षा शुरू भएको छ ।’
प्रचण्डले सरकारका काम कारवाहीको विषयमा प्रधानमन्त्री केपी ओलीसँग आफूले आजै छलफल गर्न लागेको बताए । ‘जनतामा बढेको निराशालाई हटाउनका लागि जस्तोसुकै कदम चाल्ने हो, कोही मन्त्री परोस्, नपरोस्, पार्टी आन्दोलन र जनताका अपेक्षाभन्दा व्यक्ति ठूलो होइन,’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले आफूले बिहीवादेखि भारत भ्रमण गर्न लागेको र त्यो राष्ट्रिय हित र विकासको चाहनाको पक्षमा हुने बताए । प्रचण्डले आफ्नो भ्रमण नेपालको विकासमा त्रिदेशीय सहकार्य विस्तारमा केन्द्रित हुने बताए ।
अध्यक्ष प्रचण्डले दुई अध्यक्षको समय नमिल्दा पार्टी एकताका कतिपय काम अड्किएको बताए । ‘पार्टी एकताका बाँकी कामहरू समस्या भएर अड्केका होइनन्, दुवै अध्यक्षको समय मिलाउन गाह्रो हुँदा अड्केका छन् । यो माहिनाको अन्तिमसम्ममा पार्टी एकतामा थाती रहेका काम टुंगो लाग्छ,’ प्रचण्डले भने ।