बृद्ध भत्ता बढाउन पूरक बजेट ल्याउँदै सरकार
गुगलपाटी संवाददाता काठमाडौं जेष्ठ नागरिकले पाउने वृद्धभत्ता नबढाएको भन्दै आलोचना खेप्दै आएको नेकपा नेतृत्वको सरकारले पूरक बजेट मार्फत वृद्धभत्ता बढाउने तयारी गरेको छ ।
नेकपाले चुनावमा वृद्धभत्ता बढाउने घोषणा गरेपनि बजेटमा सम्बोधन नगरेपछि आलोचना खेप्दै आएको छ । चौतर्फी आलोचना भएपछि सरकारले ज्येष्ठ नागरिकहरुले पाउँदै आएको वृद्धभत्ता बढाउन लागेको हो । सरकारले पूरक बजेट ल्याउने र वृद्धभत्ता बढाउन लागेको नेकपाका शीर्षनेताले संकेत गरेका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटले नेकपाको चुनावी प्रतिवद्धताअनुरुप ज्येष्ठ नागरिकलाई सम्वोधन गर्न नसकेपछि बा–आमाहरुले सराप्न थालेको नेकपाका एक शीर्षनेताले बताए । पूरक बजेट ल्याएर हुन्छ या अन्य कुनै उपायले भए पनि नेकपाले गरेको प्रतिवद्धता सम्वोधन हुनैपर्ने नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतामा हिजो हामीले गरेको प्रतिवद्धता बजेटमा आएन भनेर देखिएको हुनाले कहीँ न कहीँ सम्बोधन गर्न सरकारले प्रयास त गर्नुपर्छ, जताबाट गरे पनि । त्यो पूरक बजेटबाट गर्न सजिलो हुन्छ भने पूरक बजेटबाट र अरु कुनै तरिकाबाट हुन्छ भने अरु तरिकाले ।’
बूढाबूढी हुँदै गएपछि थोरैको पनि असाध्यै माया हुनेरहेछ भन्दै प्रचण्डले घरमा राम्रै आम्दानी र सम्पत्ति भए पनि सरकारले दिने भनेको दुईरतीन हजार रुपैयाँप्रति असाध्यै धेरै मोह देखिने गरेको बताए ।
सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता दिँदा आशिर्वाद दिने बूढाबूढीहरुले अहिले जिल्लामा जाँदा सराप दिन थालेको बताउँदै प्रचण्डले अगाडि भने– ‘पाँच सय रुपैयाँमात्रै थपिदिन पाएको भए र पाँच वर्षमा ५ हजार र्पुयाइदिन्छौं भन्न पाएको भए अहिले हाईहाई भइराख्थ्यो, त्यत्ति पनि भएन ।’