पत्रकारद्वारा प्रेस स्वतन्त्रताको माग

गुगलपाटी संवाददाता हेटौंडा,२० भदौ
२० भाद्र २०७५ ११:१९

नेपाल पत्रकार महासंघ मकवानपुर साखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएक कानुन परिमार्जन गर्न माग गर्दै आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रज्ञानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, तीन नम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट सहितका पत्रकारले आज प्रमुख जिल्ला अधिकारी असमान तामाङ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको हो ।

यही भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकालेती बुँदाहरु तत्काल संशोधन गर्न महासंघ मकवानपुर साखाले माग गरेको हो । मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधानहरुलाई हेर्दा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीकै आधारमा संचारकर्मीमाथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएकाले यसलाई सच्याउन माग गरिएको हो ।

यो ऐनका प्रावधानहरु लागू हुँदैन भन्ने व्यवस्था नरहेको र सञ्चारमाध्यम सम्बन्धी छुट्टै ऐनहरुमा समेत यस ऐनमा उल्लेखित विषयका सन्दर्भमा कुनै प्रावधानहरु नै नराखिएकाले यो ऐनबाट सञ्चारमाध्यम र पत्रकारहरु पीडित बन्न सक्ने अवस्था देखिन्छ त्यसैले यसलाई गम्भिरतापुर्बक लिनका लागि माग समेत गरिएको हो । ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशन÷प्रसारण गर्न बाधा हुनसक्ने देखिएको छ । सञ्चारमाध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउनु नहुने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताउनुभयो ।

पत्रकार र सञ्चारमाध्यमका लागि मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का केही प्रावधानहरु जटिल र प्रेस स्वतन्त्रता विरोधी भएको नेपाल पत्रकार महासंघको ठहर छ । तसर्थ, ती प्रावधानहरुमा तत्काल संशोधन गरी संविधानको प्रस्तावनामा नै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेण्टी गर्न महासंघ नेपाल सरकारसँग जोडदार माग गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो । दफा ४९ को उपदफा ४ को व्यवस्थालेसञ्चारमाध्यममा प्रकाशित÷प्रसारित कसैका विचार वा सामग्रीले यसखालको कसुर गर्न उक्साएको भनेर सञ्चारमाध्यमका सञ्चालक र सम्पादकहरुमाथि मुद्दा दायर हुन सक्ने संभावना छ । यसमासञ्चारमाध्यममा प्रकाशित÷सामग्रीका सन्दर्भमा भने यो दफा लागू नहुने भनेर उल्लेख गरिनु पर्ने महासंघको माग छ । ऐनका कुनै पनि प्रावधानमासञ्चारमाध्यमबाट हुने कसुरलाई फौजदारी कसुर मानिनु हुँदैन र सञ्चारमाध्यममा लेखेर भएका गल्तीलाई देवानी कसुरसम्म मात्र सीमित राखिनु पर्ने महासंघको माग छ ।

ज्ञापनपत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी असमान तामाङले पत्रकार महासंघको ज्ञापनपत्र जस्ताको तस्तै प्रधानमनत्री समक्ष पठाईदिने बताउनुभयो ।