नेपालको भुटानविरुद्ध ४–० गोलले सानदार जीत
गुगलपाटी संवाददाता काठमाडौंसाफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले भुटानविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको छ । पहिलो हाफमा १ गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा तीन गोल गरेको हाे ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको थियाे । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गरे । दोस्रो हाफमा भुटानका निमा वाङ्दीले रेड कार्ड पाए ।
नेपाली खेलाडीलाई लडाएपछि नेपालले पेनाल्टीको अवसर पायो । नेपालको पेनाल्टी बिमल घर्तीमगरले प्रहार गरे । भुटानका किपरले सहजै रोके । तर, भुटानका किपरले फालेको बललाई नेपालका सुनिल बलले गोलमा परिणत गरे।
७८ मिनेटमा भरत खवासले नेपालका लागि तेस्रो गोल गरे भने ८७ मिनेटमा नेपालका लागि चौथो गोल निराजन खड्काले गरे। खड्का वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए। निराजनको गोलसँगै भुटानमाथि नेपालले ४–० को जित दर्ता गरेको हो ।
रुस विश्वकपको प्रारम्भिक छनोट खेलमै भुटान नेपालभन्दा निकै अब्बल ठहरिएको थियो। यद्यपि नेपाल र भुटानबीचको अघिल्ला भिडन्तमा नेपालले सफलता हात पार्दै आएको छ।
सन् १९८४ मा भएको सार्कस्तरीय फुटबल प्रतियोगितादेखि भुटानसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपालले अहिलेसम्म भुटानलाई हराइरहेको छ। नेपाल र भुटानबीच हालसम्म भएका १२ वटा भिडन्तमा नेपालले सबैमा सफलता हात पारेको छ।
नेपालले पछिल्लो पटक सन् २०११ मा भुटानसँग दुईवटा मैत्रीपूर्ण फुटबल खेलेको थियो। जसमा नेपालले पहिलो खेल १-० र दोस्रो खेल २-१ ले जितेको थियो। तर यसबीचमा भुटानको फुटबल स्तर धेरै माथि गएको छ। जारी च्याम्पियनसिपको पहिलो खेलमै अन्तिम ३० सेकेन्डमा गोल खाएर हारमा चित्त बुझाएको नेपालले बिहीबार आकर्षक जित दर्ता गरेकाे हाे ।