रातारात प्रकाण्डलाई किन ल्याइयो हेटौंडा ? हेर्नुस् यस्तो छ कारण
गुगलपाटी संवाददाता हेटौंडा,२१ भदौ
पटक पटक सर्बोच्च अदालतको आदेश अवज्ञा गरी पक्राउमा परेका नेत्रविक्रम चन्द (‘विप्लव) नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘(प्रकाण्ड) लाई प्रहरीले बिहीबार राति हेटौंडा ल्याएको छ ।
यद्यपी उनलाई राति नै मकवानपुर जिल्लाबाट अन्त लैजाने संभावना रहेको बुझिएको छ ।भोजपुरबाट उनलाई हेटौंडा ल्याइएको हो । जिल्ला अदालत भोजपुरमा थुनछेक बहसपछि रिहा गर्न आदेश दिएपनि पक्राउ परेका प्रकाण्डलाई हेटौंडामा भएको कुनै घटनामा मुद्दा चलाउन ल्याइएको हो वा दाङ लैजान ल्याइएको हो पुष्टि हुन सकेको छैन ।
स्रोतले दिएको जानकारी अनुसार दाङ लैजादै गर्दा हेटौंडामा राखिएको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता नरेशकुमार सिंहले प्रकाण्ड हेटौंडा ल्याउदै गरेको थप कुरा थाहा नभएको बताए । उनलाई विभिन्न जिल्लामा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा अन्तरगत प्रहरीले अदालतमा उपस्थित गराउँदै आएको छ । नुवाकोटमा रहेका प्रकाण्डलाई मंगलबार काठमाडौंबाट विराटनगरसम्म विमानबाट र त्यहाँबाट गाडीको बाटो हुँदै राति ११ बजे भोजपुर पु¥याइएको थियो । यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो ।अब उनलाई हेटौंडामा मुद्दा चलाइनेछ वा अन्य जिल्ला लगिने छ सो कुरा भने शुक्रबार मात्रै थाहा हुनेछ ।