स्थानीय पत्रपत्रिकाः चिनियाँ कम्पनीले बनाउने भो सुरुङमार्ग, एकीकृत सुमो काउन्टरले यात्रु समस्यामा

गुगलपाटी संवाददाता हेटौंडा
२२ भाद्र २०७५ ०१:१५

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुले फरक फरक विषय उठान गरेका छन् ।

हेटौंडा–काठमाडौं सुरुङमार्गमा चिनियाँ कम्पनीसँग ९५ प्रतिशत लगानीको सम्झौता, एकीकृत काउन्टरले यात्रु र चालक समस्यामा, शिक्षक दरबन्दी मिलानमा विाद, घर नबनाउनेलाई कारबाही, विकट क्षेत्रमा स्वास्थ्य चौकी स्थापना हुँदै, भुटानविरुद्धको फुटबलमा हेटौंडाका सुनिल बलको उत्कृष्ट प्रदर्शन गरेकालगायतका समाचार आजका दैनिक पत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।

सुरुङमार्ग बनाउन एनपीबीसीएलको तदारुकता
३ नम्बर प्रदेशको सरकार आफैंले सुरुङमार्ग निर्माण गर्ने बताइरहेको बेला सुरुङमार्ग निर्माणको जिम्मा पाएको एनपीबीसीएल आफैंले अब ढिलै भए पनि सुरुङमार्ग निर्माण गर्ने तदारुकता देखाएको छ । लगानी अभाव भएको भन्दै लामो समयदेखि रोकिएको हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणको लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता भएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनीले र पावर चाइनाबीच दुईपक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार पावर चाइनाले सुरुङमार्गमा ९५ प्रतिशत लगानी गर्नेछ । आजको साझाकुरा दैनिकले यसलाई मुख्य समाचार बनाएर छापेको छ ।

एकीकृत काउन्टरले यात्रु र चालकलाई समस्या
हेटौंडा बजारको सवारी चाप व्यवस्थित गर्ने उद्देश्यले हेटौंडा उपमहानगरले सबै सुमोहरु एकै स्थानबाट सञ्चालन गर्न सुरु भएसँगै चालक र यात्रुलाई असुविधा भएको छ । यसअघि यात्रु लिन घरघरसम्म सुमोहरु अब चौकीटोलको रोपवे पार्कमा मात्र भेटिन्छन् ।

सुमो चढ्न त्यहाँसम्म पुग्न अटो चढेर अनावश्यक भाडा खर्च गर्नु परेको यात्रुको गुनासो रहेको छ । त्यस्तै यसअघि दैनिक दुई ट्रिपसम्म यात्रु ओसार्ने सुमो चालकहरु अहिले एक ट्रिप भन्दा गर्न पाउँदैनन् । जसले गर्दा तलब भत्ता कमी भएकाले समस्या भएको गुनासो गरेका छन् । आजको हेटौंडा सन्देश दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।

त्यस्तै आजको समृद्ध समाज दैनिकले विटक क्षेत्रमा स्वास्थ्य चौकी निर्माण गर्ने मिस नेपाल शृङ्खला खतिवडाको अभियानसम्बन्धी समाचारलाई छापेको छ । शृङ्खलाले कैलाश गाउँपालिकामा ६० लाख लागतमा स्वास्थ्य चौकी निर्मँण गर्न लागेकी हुन् ।

बाल अधिकार संरक्षणको लागि प्रदेश सांसदहरुको प्रतिवद्धतासम्बन्धी समाचार आजको प्रदेश दैनिकमा छ । प्रदेशसभा सदस्य मुनु सिग्देल र जुनेली श्रेष्ठले हिजो एक कार्यक्रममा आफूहरु बाल अधिकार संरक्षण गर्न सदैव प्रतिवद्ध रहेको बताएका हुन् । बालमैत्री प्रदेशको स्थापनामा आफूहरु लागिपर्ने उनीहरुको भनाइ थियो ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ