स्थानीय पत्रपत्रिकाः गाउँका सिंहदरबारमै छैनन् सचिव, खेती गर्ने घट्दो, रासायनिक मलको प्रयोग बढ्दो
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् ।
मकवानपुरका ३६ वटा वडा सचिवबिहीन, स्कुल स्कुलमा जनचेतनामुलक कार्यक्रम, खेती गर्ने घट्दो रासायनिक मलको प्रयोग बढ्दो, समयमै पुल बनाउन युवाहरुको चेतावनीलगायतका समाचार आजको स्थानीय पत्रिकाले प्रमुखताका साथ छापेका छन् ।
‘गाउँका सिंहदरबार’ सचिवबिहीन
स्थानीय तहको रुपमा घरघरमा सिंहदरबार ल्याएको दाबीसहित नेपाल अहिले संघीय संरचनामा गएको छ । ३ नम्बर प्रदेश अन्तर्गत रहने मकवानपुर जिल्लामा गत २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भयो ।
चुनावपछि राजनीतिक पृष्ठभूमिबाट जनताले जनप्रतिनिधि त पाए तर, सिंहदरबारको अनुभुत गर्न पाएका छैनन् । मकवानपुरका १० वटा स्थानीय तहका १०२ वटा वडामध्ये अहिले ६६ वटा वडामा मात्रै वडा सचिव छन् । बाँकी वडाहश्रमा केही नजिकका वडा सचिव र सामाजिक परिचालक र वडा कार्यालयका कार्यालय सहायकको भरमा वडा कार्यालयहरु चलिरहेका छन् । आजको समृद्ध समाज दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
खेती गर्ने घट्दो रासायनिक मलको प्रयोग बढ्दो
मकवानपुरमा पछिल्ला वर्षहरुमा खेती गर्ने जमिनको क्षत्रफल र उत्पादन घट्दै गएको पाइएको छ । खेतीयोग्य जमिनको प्लटिङ बढ्दो र भएका जमिन पनि बाँझो राख्ने प्रवृति बढेकाले खेती गर्ने जमिनको क्षेत्रफल साँघुरिँदै गएको हो ।
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ११ हजार ४० हेक्टरमा धान खेती गरिएकोमा ४१ हजार ४ सय मेट्रिकटन धान उत्पादन भएको थियो ।
खेती गर्ने जमिनको क्षेत्रफल घट्दै गए पनि रासायनिक मलको प्रयोग भने बढ्दो क्रममा छ । कृषि सामाग्री लिमिटेड हेटौंडा शाखाबाट गत आर्थिक वर्षमा ३ हजार ८ सय मेट्रिक टन रासायनिक मल बिक्री भएको छ । आजको साझाकुरा दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।
यसैगरी आजको हेटौंडा सन्देश दैनिकले महिला संघले कुशे औंशी वृद्धाश्रममा लताकपडा र मीठाई दिएर मनाएको समाचार पहिलो पृष्ठमा प्राथमिकताको साथ छापेको छ ।
त्यसैगरी हेटौंडा–९ र पदमपोखरी जोड्ने कुखरेनी खोलामा पक्की पुल चाँडै निर्माण गर्न ठेकेदारलाई स्थानीय युवाले दिएको चेतावनीसम्बन्धी समाचार पनि सन्देशले पहिलो पृष्ठमै छापेको छ ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका पत्रिकाका पहिलो पृष्ठ