भीमफेदी गाउँपालिकालाई लालपुर्जा हस्तान्तरण
गुगलपाटी संवाददाता मकवानपुर,२५ भदौजिल्ला समन्वय समिति मकवानपुरले भीमफेदी गाउँपालिकालाई सोमबार जग्गाको लालपुर्जा हस्तान्तरण गरेको छ ।
तत्कालिन जिल्ला विकास समितिको नाममा रहेको भिमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेको ८ कठ्ठा डेढ धुर जग्गाको लालपुर्जा हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले जग्गाको लालपुर्जा गाउँपालिका अध्यक्ष हिदम लामालाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले स्थानीय तहहरुलाई सहजता प्रदान गर्न सधै लाग्ने बताउनुभयो । भवन अभावमा गाउँपालिका संचालन भईरहेको अवस्थामा आफुहरुले स्थानीय तहमा परेको समस्यालाई सहजिकरण गर्ने काम मात्र गरेको उहाँले बताउनुभयो ।
जग्गाको लालपुर्जा लिँदै अध्यक्ष लामाले जग्गा प्राप्त भएकोमा खुसि व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले प्राप्त जग्गामा गाउँपालिकाको भवन निमार्ण गरिने तथा भवन निमार्णका लागि गउँपालिकाले यो वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी दिनुभयो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, भीमफेदी गाउँपालिकाका कार्यकारी अधिकृत जीवन कँुबर लगायतको उपस्थिती रहेको थियो ।