८ घण्टादेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आधा दर्जनभन्दा बढी पहिरो

गुगलपाटी संवाददाता
२६ भाद्र २०७५ ०२:१४

मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अबरुद्ध भएको छ। ठाउँ–ठाउँमा पहिरो खसेको कारण विगत ८ घण्टादेखि सडक अबरुद्ध भएको हो। पहिरोको कारण राती ११ बजेदेखि सडक पूर्ण रुपमा अबरुद्ध छ।

सडक खण्डमा पर्ने चारकिलो, कालीखोला, जलवीरे, घुमाउने, गाइघाट, तोर्पेखोला लगायतका ठाउँमा साना–ठूला गरेर पाँच–सात वटा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले जानकारी दिए।

सोमबार दिउँसो पनि यो सडक खण्ड पहिरोले अबरुद्ध भएको थियो। पहिरो हटाएर सडक सञ्चालन हुनासाथ साँझ झन् ठूलो पानी परेपछि फेरि पहिरो खसेको केसीले बताए।

विगत सात घण्टादेखि सडक अबरुद्ध हुँदा हजारौँ सवारी साधन र यात्रु मुग्लिन र जुगेडीमा रोखिएका छन्। पहिरोमा रोकिएका नेकपा सर्लाहीका नेता कमल वुढाथोकीले सडक अबरुद्ध हुँदा बालबालिका र वृद्धवृद्धाको विचल्ली भएको बताए। पहिरो पन्छाउन अझै तीन–चार घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ।