स्थानीय पत्रपत्रिकाः काठमाडौंको नजर किन थाहा नगरमा ? सिक्का गालेर औंठी बनाउनेहरु होसियार
गुगलपाटी संवाददाताआज हामीलाई हेटौंडाबाट प्रकाशित हुने दुईवटा मात्र पत्रिका प्राप्त भएका छन् । हेटौंडा सन्देश र साझाकुरा दैनिकले फरक फरक प्रसङ्गलाई मुख्य समाचार बनाएर छापेका छन् ।
आजका स्थानीय पत्रिकामा काठमाडौंबासीको नजर थाहा नगरतिर, सिक्का गालेर औंठाी बनाए तीन महिना जेल, कानुन बनाउने तदारुकता देखाउन मुख्यमन्त्रीको निर्देशन, प्रेस युनियनको अधिवेशन असोज पहिलो साता, दुईदिनदेखि सामुदायिक विद्यालय ठप्पलगायतका सामाचार प्रमुखताका साथ छापिएका छन् ।
काठमाडौंको नजर किन थाहा नगरमा ?
मकमकवानपुरका सुन्दर दामन पालुङलाई आधार क्षेत्र बनाएर रुपचन्द्र विष्टले थाहा आन्दोलन चलाएका थिए । हरेक कुराको थाहा जनताले पाउनुपर्छ, जनतालाई सूचनाबाट बञ्चित गरिनु हुँदैन भन्ने अभियान रुपचन्द्रको थियो ।
थाहा नगरका मेयर लवशेर विष्ट पनि पारदर्शी रुपमै काम गर्न क्रियाशील रहेको बताउँछन् । थाहा नगरमा धेरै सम्भावना रहेको भन्दै लगानी गर्नको लागि आउन मेयरले आग्रह गरेका छन् । थाहा नगरमा पर्यटन र होटलको प्रसस्त सम्भावनाहरु छन् ।
संघीय राजधानी काठमाडौंसँग एकदमै छोटो दूरी बनाउने प्रयास भइरहेका बेला काठमाडौंको नजर थाहा नगरमा पर्ने देखिएको छ । थानकोट चित्लाङ सुरुङमार्ग बन्ने चर्चासँगै थाहा नगर–काठमाडौंको दूरी धेरै छोटिने अनुमान गरिएको छ । आजको हेटौंडा सन्देश दैनिकले समाचार छापेको छ ।
त्यस्तै हेटौंडा सन्देशले नै सिक्का गालेर औंठी बनाए ३ महिनासम्म जेल जान सक्ने समाचार छापेको छ ।केही समयअघिदेखि एक रुपैयाँ र दुई रुपैयाँका सिक्का गालेर औंठी बनाउने परिपाटी चलेको छ । भिजिट नेपाल लेखिएको सुन जस्तै देखिने सिक्का गालेर औंठी बनाउनेहरु धेरै भेटिन्छन् ।
त्यसकारण भिजिट नेपाल लेखिएका सिक्का बजारमा पाउन मुस्किल छ । नयाँ फौजदारी संहिताले नोट वा सिक्का केरमेट र बिगार्ने, पोल्ने काम गर्नेलाई तीन महिनासम्म जेल सजायँ तोक्ने व्यवस्था गरेको छ ।
त्यस्तै साझाकुरा दैनिकले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रालयहरुलाई निर्देशन दिएको समाचार छापेको छ । मुख्यमन्त्री पौडेलले प्रदेशको कानुन निर्माणमा तदारुकता देखाउन मन्त्रीहरु र सचिवहरुलाई निर्देशन दिएका छन् ।
त्यस्तै राहत शिक्षकहरुको आन्दोलनको कारण मकवानपुरलगायत देशभरका सामुदायिक विद्यालयहरु दुईदिनदेखि ठप्प रहेको समाचार पनि साझाकुरामा छापिएको छ । पेसागत स्थायित्व माग्दै राहत शिक्षकहरु आन्दोलनमा उत्रिएक हुन् ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका पत्रिकाका पहिलो पृष्ठ