बाल दिवसका अवसरमा भीमफेदीमा बिशेष कार्यक्रम

गुगलपाटी संवाददाता हेटौँडा, भदौ २९ गते
२९ भाद्र २०७५ ११:२५

सुखी नेपाली समृद्ध नेपालः बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस २०७५ मकवानपुरको भीमफेदीमा मनाइएको छ ।

कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले संविधानले व्यवस्था गरेको बाल अधिकारलाई समयमा प्रत्याभूत गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल बाल संगठन, मकवानपुर र भीमआधार सामुदायिक स्कुल, भीमफेदीको संयुक्त आयोजनामा शुक्रबार हाजिरजवाफ तथा खेलकुद प्रतियोगिताका विजयी तथा उपविजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै अध्यक्ष लामाले प्रतियोगिताले विद्यार्थीहरुलाई उत्साह मिल्ने बताउनुभयो ।

उहाँले जनचेतना अभाव र आर्थिक अभावमा बालहिंसा, बालश्रमलगायतका समस्या रहेको बताउँदै आर्थिक अभावकै कारण संविधानमा व्यवस्था भएअनुसारको बालअधिकार र संरक्षणका कामहरु हुन सकेका छैनन् भन्नुभयो ।

बाल संगठनद्धारा सञ्चालित बालगृह व्यवस्थित र बालमैत्री रहेको भन्दै अध्यक्ष लामाले बाल गृहमा रहेका कानुनी जटिलताको समाधान गरी बालबालिकाको अभिभावकत्व ग्रहण गर्न तयारको बताउनुभयो ।

उहाँले बालबालिकाको सबै प्रकारका अधिकार सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले असल नागरिक बनाउन बाल अवस्थादेखिनै संरक्षण र रेखदेख आवश्यक हुने भन्दै बालबालिकालाई बाल हिंसाबाट जोगाउनसकेमा बाल दिवश मनाउनुको सार्थकता रहने बताउनुभयो ।

उहाँले गाउँपालिका बालबालिका हित संरक्षणमा प्रतिबद्ध रहेको भन्दै बलात्कारका घटनाहरु अन्त्य गर्न सबै पक्षको सहयोग र साथ आवश्यक हुने बताउनुभयो ।

संगठनका अध्यक्ष रमेश गिरिको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सीताराम थापा, कार्यक्रम संयोजक कृष्ण नकर्मीलगायतले बाल अधिकारको बारेमा बोल्नु भएको थियो ।

बाल संगठनद्धारा संचालित बाल मन्दिर परिसरमा आयोजित कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, बाल संगठनका अध्यक्ष रमेश गिरि, समाजसेवी एवं संगठनका सल्लाहकार कन्यैयाकृष्ण श्रेष्ठले खेलकुद तथा हाजिरजवाफ प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । बाल मन्दिरमा हाल अनाथ तथा असहाय ३१ जना बालबालिका आश्रित रहेका छन् ।

दोश्रो जन आन्दोलन २०६३ पश्चात् नेपाल सरकारले बालअधिकार सम्बन्धी महासन्धीलाई अनुमोदन गरेको दिन प्रत्येक वर्ष भदौ २९ गतेलाई बाल दिवसको रुपमा मनाईँदै आएको छ ।