स्थानीय पत्रपत्रिकाः बालबालिका हराउने क्रम बढ्दो, क्षेत्रफलमा ठूलो हेटौंडा प्रतिष्ठानमा भने दोस्रो

गुगलपाटी संवाददाता
३० भाद्र २०७५ ०२:३०

मकवानपुरबाट प्रकाशित हुने स्थानीय पत्रपत्रिकाले फरक फरक समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

आजको साझाकुरा दैनिकले बालबालिका हराउने र बालबिवाह गर्ने क्रम बढ्दो रहेको समाचारलाई छापेको छ । मकवानपुर जिल्लामा वर्षेनि बाल विवाह र बालबालिका हराउने क्रम बढ्दो अवस्थामा रहेको देखिएको छ ।

सिविन नेपाल हेटौंडाका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र मकवानपुरबाट २५ जना बालबालिका हराएका छन् । जसमध्ये ९ जना बालिका र १६ जना बालक रहेका छन् । घरायसी कारणले बालबालिकाले घर छाड्ने गरेको सिविनको दाबी छ ।

त्यसैगरी आजको हेटौंडा सन्देशले हेटौंडा क्षेत्रफलमा ठूलो , प्रतिष्ठानमा दोस्रो भन्ने समाचार छापेको छ । हेटौंडा औद्योगिक क्षेत्र क्षेत्रफलको आधारमा नेपालकै ठूलो औद्योगिक क्षेत्र भए पनि प्रतिष्ठानको आधारमा दोस्रो वरियतामा सूचीकृत भएको छ ।

पछिल्लो समय निजी क्षेत्रले स्थापना गरेको औद्योगिक करिडोरका कारण नेपाल सरकारले सञ्चालन गरेको औद्योगिक क्षेत्रको वरियता खस्किएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतका अनुसार सरकारी र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक क्षेत्रको मूल्याङ्कन गर्दा सरकारले सञ्चालन गरेको औद्योगिक क्षेत्र पछाडि छ ।

आजको समृद्ध समाज दैनिकले मकवानपुर गढी गाउँपलिकामा आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गरिएको समाचार छापेको छ । मकवानपुर गढी गाउँपालिकाले गाउँपालिकाभित्र अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको शुक्रबार घोषणा गरेको छ ।

विद्यालय बाहिर रहेका ३० जना बालबालिकालाई विद्यालय भर्ना गराएसँगै आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गरिएको हो ।

आजको प्रदेश दैनिकले बाल अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्ने प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको भनाइलाई प्रमुख समाचार बनाएर छापेको छ ।

त्यसैगरी थाहा सन्देश दैनिकले संविधान दिवस मनाउने तयारी तीव्र पारिएको समाचारलाई प्रमुख बनाएर छापेको छ । प्रदेश नम्बर ३ सरकारले असोज २, ३ र ४ गते ३ दिनसम्म संविधान दिवस मनाउने गरी तयारी गरेको छ ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका पत्रिकाका पहिलो पृष्ठ