एक कथा : १८ बर्षकै उमेरमा नेता बन्दा
गुगलपाटी संवाददाता कृष्णउदास खनाल
गोरखाको हंसपुर गाविसको वडा नम्बर १ मा २०३८ साल जेठ ८ गते म जन्मिएको हो तर पछि हंसपुरमा केही कठिनाइ भएपछि हामी तल डिहीटारमा २०५० सालमा बसाइ सर्यौं । म त्यत्तिबेला कक्षा ४ मा २०१६ सालमा स्थापना भएको ज्ञानज्योति माविमा पढ्थें । स्कूल घर नजिक पनि थिए तर मलाई त्यो बिद्यालय सानैमा पढेका होला छाड्न मन परेन । म संगै त्यो स्कूलमा दिदी र दाइ पनि पढ्नहुन्थ्यो ।
समयको गतिसँगै म पनि हुर्कदै थिए । २०५२ सालमा माओवादीले देशमा सशस्त्र युद्ध जनयुद्ध गरेको कुरा मैले सुनें । मेरो भन्दाइ श्रीनाथ अधिकारी त्यही पार्टीमा लागेका थिए । उनी कम्यूनिष्टका त्यो क्षेत्रका पुराना अभियान्ता थिए । त्यत्तिसम्म थाहा थियो मलाई । २०५१ सालमा फूपु दिदी(श्रीनाथकी आमा) निकै बिरामी पर्नुभयो । अन्ततः दिदी बित्नुभयो । त्यत्तिबेला मात्रै मैले श्रीनाथ दाइलाई देखें होला त्यसपछि उहाँ पुनः भूमिगत हुनुभयो । मलाई यो भूमिगत भन्ने कुरा पनि थाहा थिएन । ०५५ साल तिर श्रीनाथका जेठा छोरा नारायण अधिकारी पनि भूमिगत भए भन्ने सुनें तर उनी हाम्रो घरमा आइरहन्थे । उनी बुढो मावली आउनु अधिकारको रुपमा लिन्थे । त्यो स्वभाविक पनि थियो । बुवा पनि प्रगतिशिल धारको पक्कै हुनुहुन्थ्यो मेरो । श्रीनाथको छाप उहाँमा प्रष्टै परेको थियो ।
नरायण घरमा आउदा एक्लै आउथेनन् । साथमा कोही न कोही लिएर आउथे । घरमा पाकेको जे छ त्यो आमासंग मागेर खान्थे र उनी कतै जान्थे । उनी घरमा आउदै गर्दा उनी र उनका साथमा आउनेहरुबाट कम्यूनिष्टका कुरा थाहा पाउन थालें मैले पनि । हामी निम्न बर्गाीय परिवार । माओ,लेलिनका रोचक कथा भएका किताबहरु उनीहरुले ल्याउथे र मलाई पढ्न दिन्थे । ती किताब पढ्दा समाजमा देखिएको बर्गाीय बिभेदको अन्त्य कम्यूनिष्टले मात्रै गर्न सक्दो रहिछ भन्ने लाग्थ्यो ।
यता,म पढ्ने बिद्यालयमा अराजकता थियो । अखिलका बिद्यार्थीले म भन्दा अगाडिका ब्याजका सबैले कुटाइ खान्थे । म २०५६ सालमा कक्षा दशमा पुगें । त्यत्तिबेला त्यो क्षेत्रमा माओवादीहरुको गतिबिधि बढेको थियो । बिद्यालयमा अनावश्यक फिस लिइएको थियो । त्यसको मैले पनि बिरोध गरें । मेरै गाउँ नजिकैका एकजना दाइ भवनाथ अधिकारी पनि भूमिगत थिए । उनी पढेका शिक्षित ब्यक्ति थिए । एकदिन उनले मलाई सबै अंग्रेजी भाषामा रहेको तीनवटा किताब घरमा राख्न दिए । किताब हो यसले केनै फरक पर्ला र भनेर मैले पनि राखें तर मैले घरमा राखिन । गोठमा लगेर राखें ।
२०५६ साल भदौ ८ गते बिहानैदेखि मौसम त्यत्ति सफा थिएन । म खाना खाएर स्कूल पढ्न गइसकेको थिए । करिब एक बजेको समयमा इलाका प्रहरी कार्याैलय जौवारी र भच्चेकबाट गरी ५० जनाको प्रहरीको टोली तत्कालिन प्रहरी निरीक्षक दिनानाथ मैनालीको नेतृत्वमा मेरो घरमा प्रवेश गर्यो । घरमा छिर्ने बित्तीकै गोठमा गएर मैले राखेको किताब सबै निकाल्यो अनि घर जथाभावी भत्काउन थाल्यो अनि बुवालाई कुट्दै तेरो छोरो खोइ भनेर सोध्यो । त्यो दिनमा पुलिसले मेरो घरमा ताण्डव नृत्य देखायो । छोरा स्कूल पढ्न गएको कुरा बुवाले पुलिसलाई बताएपछि खासगरी मैनाली इलिस्पेक्टर साप अली हच्किएछन् । नेता भन्या त स्कूलमा पो पढ्छ भनेर अलि अचम्म मानेछन् । सायद उनलाई कुरा लगाउने ब्यक्तिले म माओवादीको ठूलै नेता भनेर उजुरी गरेको थियो । करिब २ बजेको थियो होला बुवा हस्यांगफस्यांग गर्दै स्कूलमा पुग्नुभयो ।छौंटौं घण्टी खाली भएकाले म बाहिर नै थिए । बुवाले तँलाइ समात्न पुलिस आएको छ, घरमा यस्तो हर्कत गर्यो भन्नुभयो । म झसंग भए । मैले गरेको त केही थिइन तैपनि प्रहरी किन आयो भन्ने कुरा मनमा खेल्यो ।
सातौं पिरेड चन्दै गर्दा स्कूल भित्र प्रहरी छिर्यो । सिधै अफिसमा गएर मैले घरमा राखेको किताब स्कूलका शिक्षकहरुलाई देखाउदै तिमीहरुलाई पढाउने मान्छे यहाँ छ के तिमीहरु पढाउछौ भनेर हकारेछ । केही शिक्षक ढंग परें त केहीभने खुसी भए किनभने म पक्राउ पर्दैछु भन्ने कुरा केही शिक्षकलाई पहिल्यै थाहा थियो । किनभने पछि मैले थाहा पाए कि उजुरी कर्ता कथित शिक्षक नै थिए । बिद्यालय छुट्टी भएपछि सबैलाई घर पठाएपछि बिद्यालय भन्दा अली तल मलाइ प्रहरीले पक्राउ गर्यो । करिब एक हजार पाँचसय बिद्यार्थीको संख्या रहेको अवस्थामा उनीहरुले थाहा पाउने गरी मलाई प्रहरीले समायो ।
मैले त्यत्तिबेला दाही पालेको थिए । मलाई फेरि फर्काएर स्कूलमा नै ल्याइयो । मानव अधिकारीको ध्वज्जी उडाएर म कक्षा नौमा पढेको भवनमा लगी चरम यातन दिइयो । बुवालाई बाहिर नै राखियो अनि मलाई तँ बावुराम भट्टराइको खास मान्छे रहिछन् भन्दै यो माओवादीको ठूलो नेता हो भन्दै कुट्दै श्रीनाथ र हरियार कहाँ छ भनेर सोधे । बेन्चको बीचमा राखेर मेरो तिध्रा च्यापै श्रीनाथ र हतियार देखाइदिस् भने तँ बचिस् होइन भने मरिस् भने मैले यी दुई कुरा थाहा छैन किताब फलानाले दिएर राखेको हुँ भनी। २ घण्टाको यातनापछि मलाई बिद्यालयबाट भच्चेक प्रहरी चौकी लाने निर्णय भयो अनि मैले बोकेको स्कूलले झोला मैनालीले बुवालाई दिएर बुवालाई घर फर्काए तर आफ्नो छोरा बिनाकारण पक्राउ परेका कारणले होला बुवाको मन थामिएन त्यतिबेला । बुवा रुनुभयो अनि म पनि रुन पुगेछु ।
राति सात बजे चौकी पुर्याएपछि खाना खान दिए मलाई । निर्धात पानी परेकाले मेरो जिऊ लगभग बसै भिजेको थियो । जाडोले म काम्दै थिए । राति ९ बजे मलाई तिनै इन्स्पेक्टर र असइ चौधर थर भएकाले आफ्नो कोठामा बोलाए । कंचडमा पेस्तोल देखाएर फेरि सोधे श्रीनाथ कहाँ छ ?हतियार कहाँ छ मैले भने मलाई थाहा छैन । फेरि कुटे। केरकार राति १२ बजेसम्म चल्यो । सायद उनीहरुलाई निन्द्रा लागेर क्यारे अनि माथि सुत्ने ठाउमा लैजान भने । पुलिसको भान्छेसंग मलाई सुत्ने ब्यवस्था मिलाइएको थियो तर भान्छे म माओवादी भएरकाले राति बम हान्छ भनेर मसंग सुतेन। रातभर मनमा कुरा खेल्दाखेल्दै उज्यालो भयो । भोलिपल्ट श्रीनाथ,नारायण सहितका माओवादी नेतालाई पक्राउ गर्नका लागि सघाउने सर्तमा कागज बनाएर मलाई तारिखमा छाडियो । जतिबेला मात्र म १८ बर्षको थिए । अहिले संझना लाग्छ कस्तो राज्य संयन्त्र केही नबुझ्ने केटाकेटी कसरी ठूलो नेता भए होला ?