निजगढ विमानस्थलः सात वर्षभित्र बन्ने, सात लाख ७० हजार रुख काट्न मन्त्रिपरिषद निर्णय कुर्दै
गुगलपाटी संवाददातानिजगढ अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिट हबका रुपमा स्थापना गर्ने योजना सरकारको रहेको छ। पछिल्लो समय रुख कटानका विषयलाई लिएर बिवादमा आएको यो विमानस्थल आइकाओको ४–एफ स्ट्यान्डर्डको बनाइने भएको छ।
विमानस्थल निर्माण गर्दा २४ लाख रुख कटान गर्ने विषयलाई लिएर वातावरण विज्ञहरुले विरोध गरेका छन्। यसको बावजुत पनि विमानस्थल निमार्ण हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फुल फ्लेज विमास्थल हैनन्, त्यसैले ट्रान्जिट हव र फुल फ्लेज विमास्थलका रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनै पनि हालतमा हुने मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए।
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको आवश्यक्ता रहेको बताए। ‘हवाई मार्ग देशको गेट बे हो,’ मन्त्री अधिकारीले भने, ‘सञ्चालनमा रहेको संसारकै ठूलो परियोजना मध्येमा यो पनि एक हो।’ यो परियोजना र निजगढ–काठमाडौं फास्ट ट्रयाक योजना देशको मुहार फेर्ने योजना भएकाले जसरी पनि यो काम अगाडी बढ्नेमा उनले जोड दिए।
पहिलो चरणमा राष्ट्रिय गौरबका आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल २ हजार ५ सय ९३. ९५ हेकटरमा बन्ने भएको छ। जसका लागि साना ठूला गरी ७ लाख ६९ हजार ६ सय ९१ रुख काटिने भएको छ। जस मध्ये १ लाख ९४ हजार ४सय ८० ठूला रुख र साना रुख अर्थात झाडीहरु ५ लाख ७५ हजार २ सय ११ काटिने भएको छ।
यो विमानस्थल विभिन्न फेजमा बनाइने छ। पूर्ण रुपमा विमानस्थल बनिसक्दा ८ हजार ४५.७८ हेक्टर जग्गा आवश्यक रहेको अनुमान गरेको छ। विमानस्थ निर्माण गर्दा ठूला रुख ५ लाख ८५ हजार ९ सय ९९ रुख र १८ लाख ६४ हजार ८ सय १ साना रुख काटिनुु पर्ने वातावरणीय प्रभाव मूल्यांकन रिर्पोट (इआईए) मा उल्लेख छ। जम्मा जम्मि २४ लाख ५० हजार ८ सय रुट कटान हुने रिर्पोटमा रहेको प्राधिकरणका महानिर्देशक गौतमले बताए। वातावरण विज्ञहरुले २४ लाख ५० हजार ८ सय रुट कटान हुने विषयलाई विरोध गर्दै आएका छन्। इआइए रिर्पोटमा २४ लाख रुट कटान गर्नुपर्ने भने पनि प्राधिकरणका महानिर्देशक र मन्त्री भने यी सबै रुख नकाटिने जिकिर गर्छन्।
रुख कटानका विरोधलाई मन्त्री अधिकारीले सकारात्मक रुपमा लिँदै जतिसक्दो कम रुख कटान गर्ने बताए। उनले १ रुख कटान गरे बापत २५ रुख रोपने स्पस्ट पारे। वि.स २०७३ फागुन २५ गतेको मन्त्रिपरिषदको निर्णयले नेपाली सेनालाई पहुंच मार्ग, पेरिफेरी सडक निर्माण र रुख कटान सम्बन्धी कार्यको जिम्मा दिने गरी सम्झदारी पत्रमा हस्ताक्षर भएको हो। दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना क्षेत्रको इआईए वन तथा वातावरण मन्त्रालयबाट वि.स २०७५ जेठ ९ मा स्वीकृत भएको हो। वातावरणबाट स्वीकृत भएसँगै मन्त्रीपरिषदबाट समेत इआईए रिर्पोट स्वीकृत हुनुपर्ने छ। त्यस पछि मात्र रुख काट्ने प्रक्रिया अगाडि बढ्ने मन्त्री अधिकारीले जानकारी दिए। उनले हचुवाका भरमा रुख नकाटिने स्पस्ट पारे।
यो विमानस्थल निमार्णका लागि सन् १९९५ मा नेपिको/इर्याड कम्पनीले विभिन्न आठ स्थानमा पूर्व सम्भाव्यता सर्वेक्षण गरेको थियो। जसका आधारमा बारालाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न उपयुक्त रहेको निश्कर्ष निकालियो।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ७ मार्च २०१० मा नेपाल सरकार र कोरियन कम्पनी ल्याण्डमार्क बीच विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति भएको हो। यो कम्पनीले २ अगस्ट २०११ मा नेपाल सरकारलाई रिर्पोट बुझाएको थियो।
कोरियाली कम्पनीले ३.५ मिलियन डलर (३५ करोड) खर्चेर विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो। रिपोर्ट बुझाएको ७ वर्ष पुग्न लाग्दा समेत नेपाल सरकारले रकम दिन चासो नदेखाएको हुँदा बिवाद भएको थियो। कोरियन कम्पनीले क्षतिपूर्ति स्वरुप रिपोर्ट बनाउन लागेको भन्दा दोब्बर रकम माग गर्दै आएको छ।
तर रविन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्डउन मन्त्री भएर आए पछि ल्याण्डमार्कको रिर्पोट नेपालले ग्रहण गरेको हो। तर हालसम्म पनि रिपोर्ट बापतको रकम ल्याण्डमार्कलाई प्रदान गरिएको छैन।
८ हजार ४५.७८ हेक्टर जग्गामा बन्ने विमानस्थल क्षेत्रमा ९० प्रतिशत जंगल र १० प्रतिशत निजी जग्गा रहेको छ। विमानस्थल बन्ने क्षेत्रमा लालपुर्जा नभएका १४ सय ९४ घर परिवारलाई पुनर्वास दिनुपर्ने र ११० विगाहा जग्गा अधिग्रहण गर्नुपर्ने छ। अधिग्रहण गर्न वि.स २०७३ चैत १४ मा मूआव्जा समितिले दररेट निर्धारण गरेको थियो। समितिका अनुसार मूल सडकले छोएको जग्गालाई प्रति कठ्ठा रु ४ लाख ६० हजार, सहायक बाटोले छोएकोलाई प्रति कठ्ठा रु ३ लाख ३९ हजार २ सय ५० र बाटोले नछोएको जग्गालाई प्रति कठ्ठा रु २ लाख ४१ ह्जार ५ सय रकम प्रदान गर्दै आएको छ। हाल मुआब्जा वितरण कार्य चालू रहेको ११० विगाहा मध्ये ५५ विगाहा १२ कठ्ठा जग्गा अधिग्रहण गरिरहेको छ।
विमानस्थल निर्माणका लागि आवश्यक विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न कम्पनीहरुले निवेदन दिइसकेका छन्। र १ महिना भित्रमा डिपिआर तयार गर्ने कम्पनी छनौट गर्ने प्राधिकरणका महानिर्देशक गौतमले बताए। विमानस्थल निजी क्षेत्रलाई निमार्णका लागि दिने निर्णय भइसकेको छ।
पहिलो चरणमा बन्ने विमानस्थल
विमानस्थल निर्माणको पहिलो चरणमा ३ हजार ६०० मिटर लम्बाई र ४५ मिटर चौडा धावनमार्ग बन्ने छ। साथै १९ वटा विमान पार्किङ बे र २ कार्गो पार्किङ बे हुनेछ।
विमानस्थलकालागि आवस्यक कन्ट्रोलटावर २ हजार वर्ग मिटरमा निर्माण हुन्छ। विमानस्थमा ७५ हजार ५ सय वर्ग मिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवन १५ सय वर्ग मिटरको बन्ने छ। कार्गोका लागि भने ५ हजार वर्ग किलो मिटरको टर्मिनल भवन आवश्यक रहेको प्राधिकरणले जानकारी दिएको छ। एयर्पोट रिसोर्स एण्ड फाएरफाइटिङ १५ सय वर्ग मिटरमा बन्ने छ।