मृगौला पीडित मोक्तानलाई सहयोग
गुगलपाटी संवाददाता मकवानपुर, ३१ भदौमकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ पर्ता (साविक हाँडीखोला गाविस वडा नम्बर २) मा मृगौला रोगबाट पिडीत एक बालकलाई भदौ ३० गते १ लाख ६८ हजारभन्दा बढी सहयोग प्रदान गरिएको छ ।
पर्ता निवासी अखिल कुमार मोक्तानको कक्षा १० मा अध्ययनरत १४ वर्षीय छोरा अमित मोक्तानलाई स्थानीय नोर्साङ जिम्बा तामाङको रोहोबरमा प्रवासका अभियान्ताहरुबाट संकलित १ लाख ६८ हजार ५ सय ३० रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो । लामो समय देखि दुबै मृगौला फेल भइ आफ्नो अध्ययन समेत स्थगित गर्न बाध्य भएका मोक्तानको परिवारको आर्थिक स्थिती समेत दयनीय र कमजोर भएका कारण पीडित अमितको मृगौला प्रत्यारोपण गर्नको लागि युवा समाजसेवी नोर्साङको पहलमा भदौ १५ गते देखि फेसबुकमार्फत राहत संकलन अभियान सञ्चालन गरिएको थियो । सोही अभियान अन्तर्गत प्रवास स्थित सिन्धुपाल्चोक सेवा समाज कुवेतका महिला संयोजक तथा सामाजिक अभियान्ता कृति गोले र सदस्य संगिता लोप्चनको विशेष पहलमा सिन्धुपाल्चोक सेवा समाज कुवेतले ७२ हजार ८ सय ४५, मलेसियाको जोरबारुमा कार्यरत राजु मुक्तानको पहलमा उनको कम्पनीमा कार्यरत साथीहरुबाट संकलित ३५ हजार ६ सय ८५ र लेवनानबाट बोम्जन सोनीको रोहोबरमा उनका साथीहरुबाट संकलित ६० हजार गरी १ लाख ६८ हजार ५ सय ३० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो ।
मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेती, वडा नम्बर १ का वडा अध्यक्ष शिव खनाल, वडा प्रतिनिधि तथा अन्य जनप्रतिनिधिसहित तात–तातो खबरका पत्रकार भाग्य नेपाली सहितको प्रत्यक्ष उपस्थितिमा पीडित अमित मोक्तानलाई उनकै निवासमा आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै अभियान्ता नोर्साङ जिम्बा तामाङले आगामी दिनहरुमा पनि प्रवास स्थित तामाङ संघसंगठन लगायत अन्य संस्थाहरु प्रति यस्तै सहयोगको अपेक्षा गर्दै अमित मोक्तानको जिवन बचाउन आग्रह गरे । उनले सिन्धुपाल्चोक सेवा समाज कुवेतका महिला संयोजक कृती गोले, संगिता लोप्चन, राजु मोक्तान र सुनिता तामाङ लगायतलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।