स्थानीय पत्रपत्रिकाः मुख्यमन्त्री भन्छन्–प्रदेश सरकार उडिरहेको छ

गुगलपाटी संवाददाता
१ आश्विन २०७५ ०१:१५

मकवानपुरबाट प्रकाशित हुने स्थानीय पत्रपत्रिकाले फरक फरक समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

आजको हेटौंडा सन्देश दैनिकले मुख्यमन्त्री पौडेलले आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रदेश सरकार उडिरहेको बताएको प्रसङ्गलाई प्राथमिकता दिएर छापेको छ ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली ठूला व्यवसायीलाई आश्वस्त बनाउने प्रयास गरेका छन् । उनले संघीयताको अभ्यासमा हरेक क्षेत्र मिलेर अगाडि बढे मात्र विकास र आर्थिक समृद्धि हुने भन्दै लगानीको लागि आग्रह गरे ।

प्रदेशको समृद्धिको मार्गचित्रसम्बन्धी अन्तरक्रियामा पौडेलले प्रदेश सरकारको काम देखिन केही समय लाग्ने बताए । उनले भने–‘अहिले हामी जहाजमा उडिरहेका छौं, उडेको बेला जहाजको गति थाहा हुँदैन, जहाजको गन्तव्यमा पुगेपछि मात्र जहाज गति थाहा हुन्छ ।’

आजको साझाकुरा दैनिकले मकवानपुरको राक्सिराङ–६ का किसानहरुले मौरीपालन गरेर मनग्य आम्दानी गर्दै आएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । त्यस क्षेत्रका ६० जना किसानले मह उत्पादन गरी वर्षेनि लाखौं कमाउँदै आएका छन् ।

त्यस्तै समृद्ध समाज दैनिकले पुननिर्माणमा रणनीतिका साथ काम गरिने निर्णय भएको सम्बन्धी प्रसङ्गलाई छापेको छ । जिल्ला पुननिर्माण सहजीकरण समिति मकवानपुरको आइतबार बसेको बैठकले हालसम्मको प्रगतीका बारेमा समीक्षा गर्दै नयाँ रणनीतिका साथ अघि बढिने योजना बनाइएको हो ।

आजको प्रदेश दैनिकले पनि मुख्मन्त्री पौडेलको भनाइसम्बन्धी प्रसङ्गलाई प्राथमिकताका साथ छापेको छ । त्यस्तै बस्तीपुर जेसीजको जेसीज सप्ताह आइतबारबाट सुरु भएको समाचार पनि प्रदेशमा छ ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका पत्रिकाका पहिलो पृष्ठ