लुटपाटमा संलग्न रहेको आरोपमा मकवानपुरका चारजना पक्राउ
गुगलपाटी संवाददाता हेटौंडा,१ असोज
ललितपुरको गोदावरी नगरपालिका–६ टिकाभैरव बजारमा रहेको लुम्बिनी बैंकमा भदौ १८ गते चोरी गरेको तथा अन्य बैंकहरुमा चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार पक्राउ पर्नेहरुमा मकवानपुरको एउटै गाउँका रहेका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ कोदोखोरियाका सोमलाल स्याङतान, सोमलाल थिङ, राजु लामा र कुमार लामा पक्राउ परेको एसएसपी धानुकले जानकारी दिए ।
सोमबार विहान करिब ३ बजे लतिलपुरको छम्पीमा रहेको प्रल्हादा विष्टको घरको झ्याल फोडेर चोरी गर्दै गरेको अवस्थामा घरधनीले थाहा पाएपछि भागेको उक्त समुहलाई प्रहरीले भैंसेपाटीस्थित वाईवाई मोडबाट चोरी गर्न प्रयोग गरिएको गाडीसहित पक्राउ गरेको हो ।लुटपाटमा संलग्न यो गिरोहले गत साउन ३१ गते रातको समयमा महालक्ष्मी नगरपालिका–६ सिद्धीपुरमा रहेको ‘सत्य बचत तथा ऋण सहकारी संस्था’को ढोका फोडेर दुईओटा आईफोन सहित १ लाख २५ हजार बराबरको धनमाल डकैती गरेको पाइएको छ ।‘फाइनान्स डकैती गरेदेखि नै उक्त समुह हाम्रो खोजी सूचिमा थियो’ एसएसपी धानुकले भने, ‘निजहरु चोरीका यस्ता अन्य घटनामा समेत संलग्न भएको हुनसक्ने देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ ।’
बैंक तथा वित्तिय संस्थाहरुलाई टार्गेट बनाएर चोरी गर्ने यो समुहले आइतबार (भदौ ३१ गते) गोदावरी नगरपालिका–५ लेलेमा रहेको गंगाराज थापाले सञ्चालन गरेको स्टेशनरी फोडेर १० हजार नगद चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।