के भने ठोरीवासीले मुख्यमंत्रीसँग ?

गुगलपाटी संवाददाता वीरगन्ज
१२ चैत्र २०७४ ११:५८

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग ठोरीले आफूहरुलाई तीन नम्बर प्रदेशमा गाभ्न माग गरेका छन् ।
ठोरी नाकाको स्थलगत अवलोकनका लागि सोमबार ठोरी पुगेका मुख्यमन्त्री पौडेलको स्वागत गर्दै स्थानीयवासीले ठोरीलाई प्रदेश २ बाट प्रदेश ३ मा लैजान माग गरेका हुन् । ठोरी गाउँपालिका १ का वडाध्यक्ष रामशरण कुँवरले ठोरीलाई प्रदेश ३ मा गाभ्न पटकपटक प्रयास गरिएपनि सफल नभएको गुनासो पोखे । उनले मुख्यमन्त्री समक्ष ठोरीका जनता र जनप्रतिनिधिको भावनाको सम्मान हुनुपर्ने बताए ।ठोरी गाविसका पूर्वअध्यक्ष उद्धव सापकोटाले लोकतन्त्रमा जनताको भावनाको सम्मान हुने भनिएपनि ठोरीका जनताको चाहाना र भावनाको अहिलेसम्म कदर नभएको दुखेसो गरे ।
मुख्यमन्त्री पौडेलले जनताको भावनाको सम्मान राज्यले गर्नुपर्ने भन्दै प्रदेश ३ का लागि पनि एक नाकाको आवश्यकता रहेको बताए ।उनले प्रदेश ३ का लागि सबैभन्दा उपयुक्त नाका ठोरी नै हुने भन्दै प्रदेश २ सँग आवश्यक छलफल र सहमतिमा अघि बढ्ने बताए ।‘प्रदेश आत्मनिर्भर बन्न उचित नाकाको समेत आवश्यकता पर्दछ,’मुख्यमन्त्री पौडेलले भने, ‘सरकारले एक आयोग गठन गरी सीमा हेरफेर गर्नुपर्दछ ।’
स्थानीय तहको निर्वाचनपछि बसेको गाँउपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश ३ मा गाभिन प्रस्ताव पारित गरेको थियो ।माओवादीका अध्यक्ष प्रचण्डले समेत ठोरी नै पुगेर यहाँका जनताको माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।ठोरीवासीले तीन नम्बर प्रदेशमा आफूहरुलाई समायोजन गर्नुपर्ने माग प्रायः सबै दलका नेताहरुसंग गरेका छन् । मधेशवादी बाहेक अन्य दलका शीर्ष नेताहरुले ३ नम्बर प्रदेशमा आफूहरुलाई समायोजन गर्ने आश्वासन दिइसकेको स्थानीय जनप्रतिनिधिहरुले दाबी गरेका छन् ।