ओम बाबा आश्रमको भर पर्दा ज्यान गयो

देवराज पन्त मकवानपुर २ असोज
२ आश्विन २०७५ १४:२१

आफूलाई बिसञ्चो भएपछि झारफुकबाट निको गर्न भनेर मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौधघरेमा रहेको ओम बाबा आश्रम पुगेकी हेटौंडा ११ की सावित्री पुडासैनीको सोमबार ज्यान गएको छ ।

बिसन्चो भएको कारण झारफुक गर्न आफ्नी छोरीलाई समेत लिएर ओम बाबा आश्रममा सोमबार बिहानै पुगेकी पुडासैनी बिहान १० बजे आश्रममै बेहोस भईन् तर उनको स्वास्थ्य उपचारको लागि अस्पताल नल्याई ४ घण्टासम्म आश्रममै राखेर झारफुक गरेको कारण उनको मृत्यु भएको हो । आश्रमका बाबा ओमबाबाले अब केही बेरमा सबै ठिक हुने भन्दै करीब ४ घण्टा सम्म बिरामीलाई राखेर अन्तिम अवस्थामा अस्पताल ल्याउनु परेकाले बिरामीको ज्यान गएको आफन्तहरुको भनाई रहेको छ ।

उनलाई दिउँसो २ बजेर १५ मिनेटमा हेटोंडाकोे चुरेहिल अस्पतालमा ल्याईपुर्याउँदा उनको मृत्यु भईसकेको अस्पतालले पुष्टी गरेको थियो । बेहोस भएको त्यत्तिका समय बित्दा समेत अस्पताल ल्याउन नदिई आश्रमका बाबाले झारफुक नै गरिरहेको कारण उनको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । आश्रमले अस्पताल ल्याउन नदिदा बिरामीको ज्यान गएको विरोधमा उनका आफन्त र स्थानीयहरुले हेटौंडा जिल्ला अस्पतालमा मंगलबार बिहान देखि साँझ सम्म बिरोध प्रदर्शन गरिरहेका छन् । स्थानीय तथा मृतकका आफन्तले अस्पतालमा बिरोध प्रदर्शन गरेपछि प्रहरी परिचालन गरिएका् छ ।

यता अस्पतालले आफूसँग प्राविधिक तथा दक्ष चिकित्सक नभएको बहाना गर्दै पोष्टमार्टम समेत गरेको छैन ।