स्थानीय पत्रपत्रिकाः निजी क्षेत्रले सुरुङमार्ग बनाउनेमा मुख्यमन्त्रीको अविश्वास

गुगलपाटी संवाददाता
३ आश्विन २०७५ ०१:२७

हेटौंडाबाट प्रकाशित हुने पत्रिकाहरुले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले चौथो संविधान दिवस मनाइरहँदा द्धन्द्धपीडितको व्यथालाई प्रस्तुत गर्दै मुख्य समाचार बनाएको छ ।

त्यस्तै सुरुङमार्ग निर्माण कम्पनीप्रति ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलले अविश्वास प्रकट गरेको सम्बन्धी समाचार पनि छापिएको छ । नेपाल पूर्वाधार विकास कम्पनीका प्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री पौडेलले सुरुङमार्ग कम्पनीले बनाउनेप्रति जनता विश्वस्त नरहेको बताए ।

हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माण गर्न कम्पनीसँग कुनै आधार नभएको मुख्यमन्त्रीको भनाइ थियो । कम्पनीले धेरै वर्षअघि नै सुरुङमार्ग निर्माण गर्छु भनेर जनतालाई झुक्याएको भन्दै अब प्रदेश सरकारले नै सुरुङमार्ग बनाउने पनि पौडेलको भनाइ थियो ।

त्यस्तै आजको साझाकुरा दैनिकले प्रदेशसभामा स्थायी राजधानीको प्रस्ताव नल्याएपछि सांसदहरु रुष्ट बनेको समाचार प्राथमिकताका साथ छापेको छ । प्रदेशसभामा स्थायी राजधानी र नामाकरणको बारेमा प्रस्ताव नल्याइएको भन्दै मंगलबारको प्रदेशसभामा सांसदहरुले रोष प्रकट गरेका छन् ।

आजको समृद्ध समाज दैनिकले प्रदेश शिक्षा विकास निर्देशनालय स्थापना भएको समाचार छापेको छ । ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने निर्देशनालयको सामाजिक विकास मन्त्री युवराज दुलालले मंगलबार उद्घाटन गरेका हुन् ।

प्रदेश दैनिकले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको माग सम्बन्धी प्रसङ्गलाई छापेको छ । जनप्रतिनिधिबाट विद्यालय व्यवस्थापन समिति छनौट गर्ने स्थानीय तहको प्रावधान हटाउन उनीहरुले माग गरेका छन् । मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई उनीहरुले ज्ञापनपत्रसमेत बुझाएका छन् ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका पत्रिकाका पहिलो पृष्ठ