जिविका गुजार्न लागू औषधको कारोबार

कृष्णउदास खनाल वीरगन्ज
१२ चैत्र २०७४ १२:३२

पर्सा प्रहरीले चरेश र गाँजासहित दुई जनालाई सोमबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर सोमबार उनीहरुलाई सार्वजनिक गरेको हो । भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना रक्सौल सुक्ला कोलोनी ८ का २० वर्षीय पवन गुप्ता र विन्दबासिनी गाउँपालिका ५, प्रसौनीभाठाका ७० वर्षीय महोदिन देवानलाई प्रहरीले सार्वजनिक गरेको हो । वीरगन्ज महानगरपालिका १६ स्थित सडक खण्डमा चेकजाँचका क्रममा शनिबार पवनको साथबाट ८ वटा प्याकेटमा रहेको ४ किलो चरेश फेला परेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए ।
‘प्रारम्भिक अनुसन्धानको क्रममा गुप्ताले भारत घर भई वीरगन्ज–१६ नगवामा डेरा गरी बस्ने एक रिक्सा चालकले गुप्तालाई उसकै कोठामा लगेर शरीरमा फिट गराएर पठाएको बुझिएको छ’, उनले भने, ‘त्यसरी चरेश रक्सौल र्पुयाएवापत उसलाई ५ हजार दिने गरिएको रहेछ ।’बयानका क्रममा उनले बुवाको मृत्युपछि आमाको उपचार गर्ने जिम्मा आफ्नै काँधमा आएको र अन्य आय स्रोत नभएकोले चरेश ओसारपसार गर्ने कार्य गर्ने गरेको बताएका छन् ।
डेरा पत्ता लगाई खानतलासी गर्दा चरेशको नमुना, भारतीय सीमकार्डहरु, प्याकिङ गर्न प्रयोग गर्ने प्लाष्टिकको थैलीहरु, बैंकको भौचर, मोबाईल र चरेशको प्याकेट बोक्न प्रयोग गरिने कपडाको फित्ता, प्याकिङ टेपहरु मात्रै बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।यसैबीच, प्रहरीले मेड ईन जापान लेखिएको कटुवा पेस्तोलसहित पक्राउ परेका एक जनालाई पनि सार्वजनिक गरेको छ ।पर्साको कालिकामाई गाउँपालिका–४, बलुवाटोलका ६२ वर्षीय हुसेन मियाँलाई सार्वजनिक गरिएको हो ।गत चैत १० गते झै–झगडा भएको भन्ने सूचना पाएर सुरक्षा बेस क्याम्प सुर्जाहाकट्टीबाट खटिएको प्रहरी टोलीले मियाँलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो ।