बुलेटमा सँगसँगै, ब्यालेटमा अलगअलग

गुगलपाटी संवाददाता
१२ कार्तिक २०७४ ०७:४७

माओवादी जनयुद्धमा एकमात्र महिला ब्रिगेड कमाण्डर रहेकी गोरखाकी कमला नहर्की र अनेरास्ववियू क्रान्तिकारीका नेता हरिशरण आचार्य युद्धका बेला एउटै पार्टीमा रहेर काम गरे।

०७२ असोज ९ गते बाबुराम भट्टराईले माओवादी पार्टी परित्यागको घोषणा गरेसँगै आचार्य पनि भट्टराईसँगै नयाँ शक्तितिर लागे। युद्धका यी सहयात्रीहरु अहिले भने एउटै निर्वाचन क्षेत्रमा एकअर्काविरुद्ध चुनाव भिड्दैछन्।

भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गोरखा २ मा चुनावी प्रतिस्पद्र्धा गर्दैछन्। पहिले एउटै पार्टी माओवादीमा दोस्रो र तेस्रो बरियातामा रहेका नेतामात्र होइन, सरकारमा पनि सँगै रहेका भट्टराई र श्रेष्ठबीचको प्रतिस्पर्धा झन् चर्को हुँदैछ।

गोरखाको यो प्रतिस्पर्धालाई झन् तातो बनाउँदैछ कमला नहर्की र हरिशरण आचार्यको प्रतिस्पर्धाले। गोरखा २ प्रदेश सभा ‘क’ क्षेत्रमा वाम गठबन्धनबाट नहर्की र कांग्रेस, नयाँ शक्ति गठबन्धनबाट आचार्यले उमेद्वारी दर्ता गरेपछि यहाँ मंसीर १० गते चुनावी भिडन्त हुँदैछ।

जनयुद्धका यी पूर्वसहयोद्धाले गोरखा क्याम्पस पढ्दा राजनीति सुरु गरे र पछि जनयुद्धमा होमिए। यस्तै ०५७ देखि ०५९ सम्म माओवादी सचिवालय सदस्य रहेकी नहर्की ३ र आचार्य २ नम्बर एरियाको इञ्चार्ज समेत रहेका थिए।

जेल ब्रेकर नहर्की
नहर्कीसँग अर्को इतिहास पनि जोडिएको छ। उनी गोरखा कारागारबाट सुरुङ खनेर भाग्न सफल भएकी थिइन्। ०५७ चैत १७ गते गोरखा कारागारबाट सुरुङ खनेर बाहिर निस्किएकी नहर्की पटकपटक जेल परेकी थिइन्।

दुई प्रतिनिधिसभा र चार वटा प्रदेशसभा क्षेत्र रहेको गोरखामा प्रत्यक्षतर्फ उनीमात्रै महिला उमेद्वार हुन्।

०५५ मा माओवादी होलटाइमर कार्यकर्ता उनी सोही वर्ष महिलाको राष्ट्रिय सम्मेलनमा जाँदा काठमाडौंमा एक महिना जेल परेकी थिइन् भने ०५६ मा पुनः पक्राउ परेकी उनी ०५७ मा जेलब्रेक गरी बाहिर निस्केकी थिइन्।

राजनीतिमा संघर्ष गर्दागर्दै उनी एरिया कमिटी सदस्य, जिल्ला सदस्य, उपब्यूरो सदस्य, जनमुक्ति सेना १० नम्बर बटालियनको कम्पनी कमिसार समेत भइन्। क्यान्टोनमेन्टमा पुगेपछि ब्रिगेड कमाण्डर हुने एकमात्र महिला नहर्की हुन्। नहर्की अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छिन्।

स्थानीय तह निर्वाचनका बेला गोरखाको मेयर पदका लागि नहर्की टिकटको दावेदार थिइन्। तर माओवादीले नहर्कीलाई टिकट दिएन, कृष्ण रानाले टिकट पाएर कांग्रेसका राजनराज पन्तसँग पराजित भए।

गोरखा २ क प्रदेशमा गोरखा नगरपालिका ८ देखि १४ वडा, पालुङटार नगरपालिका पर्छ। पालुङटार गृहनगर भएका भट्टराईको पक्षमा रहेको जनमत आफूतर्फ तान्दै नयाँ शक्तिका आचार्यसँग प्रतिस्पर्धा गर्न नहर्कीको चुनौतीपूर्ण समय सुरु भएको छ।

राजनीतिमा आफ्नो लामो संघर्ष चुनाव जित्ने गतिलो आधार ठान्छिन् नहर्की।

हरेश नखाने हरिशरण
नेकपा मशालबाट राजनीति थालेका आचार्य विद्यार्थी नेताका रुपमा चिनिन्छन्। ०५१ मा माओवादी पार्टी सदस्यता लिएका आचार्य ०५४ मा होलटाइमर कार्यकर्ता बनेका थिए। ०५४ मा पहिलोपटक पक्राउ परेका उनी ११ दिन कारागार बसेर छुटेका हुन्। एक वर्षपछि किसान सम्मेलनमा जाँदा उनी ०५५ मा फेरि पक्राउ परे र चार महिनापछि छुटे।

०५८ मा अखिल क्रान्तिकारीको अध्यक्ष बने। त्यसको एक वर्षपछि एरिया इञ्चार्ज भएका उनी ०६१ मा पोखरामा पुनः पक्राउ परे। प्रहरीले पक्राउपछि १२ दिन आचार्यलाई बेपत्ता बनाएको थियो, मानव अधिकारकर्मीको दबाबमा पछि उनी छुटे। ०६३ बाट उनी पार्टी राजनीतिमा बढी सक्रिय भए।

काठमाडौं उपत्यका ब्यूरो सचिवालय सदस्य भएका उनी पालुङटार बिस्तारित बैठकदेखि भट्टराईको विचारसँग सहमत भए।

नयाँ शक्ति जन्मेपछि गोरखा २ को इञ्चार्ज रहेका आचार्य पालुङटारको मेयरको टिकटका दाबेदार थिए। तर नयाँ शक्तिबाट अशोक देवकोटाले टिकट पाएपनि कांग्रेसका दीपकबाबु कँडेलसँग पराजित भए।

स्थानीय निर्वाचनमा पालुङटार क्षेत्रबाट नयाँ शक्तिले ३९ सय मत ल्यायो। जेल पर्दै छुट्दै पुनः राजनीतिमा संघर्ष गर्दै अघि बढेकाले आफूले चुनाव जित्ने आचार्यको दावी छ।