मुख्यमन्त्रीद्वारा मनहरीमा पक्की पुल उद्घाटन

गुगलपाटी संवाददाता हेटौंडा, ३ असोज
३ आश्विन २०७५ १४:४६

 

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एक कार्यक्रमका बीच मनहरी गाउँपालिकाको नवनिर्मित पक्की पुलको उद्घाटन गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ९ रजैया र वडा नम्बर ३ लामिटार जोड्ने पक्की पुलको उनले उद्घाटन गरेका हुन् । संघीय सरकारको ५ करोड ६७ लाख ३० हजार रुपैयाँमा १ सय २५ मिटर लामो सो पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माण भएपछि सो क्षेत्रबाट उत्पादित तरकारी, खाद्यान्न लगायतका साम्रीलाई सदरमुका हेटौंडा लैजान सहज हुने बताईएको छ ।

यसै गरी बुधबार नै मुख्यमन्त्री पौडेलको उपस्थितिमा मनहरी गाउँपालिकाले आर्थिक बर्ष ०७४।०७५ को आयव्यय तथा पालिकाले गरेको कार्य प्रगति विवरण समेत सार्वजनिक गरेको छ । गाउँपालिकाले यस आर्थिक बर्षमा आर्थिक विकास तर्फ २ करोड १६ लाख २९ हजार, सामाजिक विकासमा १६ करोड १७ लाख ९८ हजार, भौतिक पूर्वाधार विकासमा १ करोड ७२ लाख १ सय, वातावरणमा २ करोड ७९ लाख ७५ हजार र कार्यालय सञ्चालनमा १३ करोड १६ लाख ५२ हजार खर्च गरेको पालिका अध्यक्ष एकराज उप्रेतीले बताएका छन् । गाउँ पालिकालाई संघीय तथा प्रदेश सरकारले दिने अनुदान बाहेक आन्तरिक आय भने ३ करोड ६७ लाख ८० हजार रहेको छ ।
गाउँपालिकाले ठूला आयोजना छनौट गर्ने, समय सिमा भित्रै सबै आयोजनाहरु सम्पन्न गर्ने, वातावरण मैत्री पूर्वाधार निर्माण लगायत बाल मैत्री स्थानीय तह निर्माण गर्ने लगायतका कार्य गर्ने लक्ष्य लिएको कार्यक्रममा जानकारी दिइएको छ।