ट्राफिक सचेतना स्टीकर टाँसियो

देवराज पन्त हेटौंडा, ४ असोज
४ आश्विन २०७५ ०४:५३

हेटौंडा इन्फिल्डर मकवानपुरले बिहीबार हेटौंडा बजारको बुद्ध चौक, सिमा चौकका सडकको दायाँबायाँ ट्राफिक सचेतनामूलक स्टीकर लगाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयोजनमा हेटौंडा इन्फिल्डरले करीब ६० थान सडक स्टीकरहरु लगाएको हो । यसका साथै हेटौंडा इन्फिल्डरले करीब ६ सय थान सवारी साधनमा समेत ट्राफिक सचेतनामूलक स्टीकर लगाएको छ । हेटौंडा इन्फिल्डरका सदस्य तथा ट्राफिक प्रहरीहरुले संयुक्त रुपमा सो स्टीकर टाँस गरेका हुन् ।

यस्ता सचेतनामूलक स्टीकरले सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालका प्रमुख वीरेन्द्रकुमार ठाकुरले बताएका छन् । विभिन्न सामाजिक कार्यमा सरिक हुदै आएको हेटौंडा इन्फिल्डर मकवानपुरले आगामी दिनमा पनि यस्तै सचेतनामूलक कार्यलाई निरन्तरता दिने लक्ष्य रहेको हेटौंडा इन्फिल्डरका अध्यक्ष विजय थापाले बताएका छन् । १ लाख ५० हजार रकमको सो स्टीकर सर्वो लुब्रिकेन्टस कम्पनीले सहयोग गरेको हेटौंडा इन्फिल्डरका सदस्य पारस लामाले बताएका छन् ।