९४ बर्षकाे उमेरमा बल्ल नागरिकता !
गुगलपाटी संवाददाता मकवानपुर
मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ की ठूलीमाया सुनारले ९४ बर्षको उमेरमा नागरिकता परिचय पत्र पाएकी छिन् ।
ठूलीमायाँ सुनारजस्तै नागरिकताबिहिन नागरिकलाई सेवा दिनका लागि मनहरी गाउँपालिका ४ नं वडा कार्यालयले नागरिकता शिविर सञ्चालन गरेको हो । स्थानीय पशुपतिनाथ माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविरमा ठूलीमायाँसँगै ७७ जनाले नागरिकता परिचयपत्र प्राप्त गरेकी छिन् । नागरिकता प्रमाणपत्र प्राप्त गर्नेमध्ये १९ जनाका आफन्त नातेदार नभएका कारण जनप्रतिनिधिहरुको सिफारिसका आधारमा नागरिकता प्रदान गरिएको थियो ।
नागरिकता परिचयपत्र नहुँदा सरकारले दुईदशकदेखि ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएको व्यक्तिलाई प्रदान गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ताबाट उनीहरु बन्चित थिए । आमाले ९४ बर्षको उमेरमा नागरिकता प्राप्त गरपछि अब सामाजिक सुरक्षा भत्ता समेत आउने भएकाले उनकी छोरी मैना सुनारले खुसी व्यक्त गरिन् । ठूलीमाया भने नागरिकता पाए÷नपाएकोमा खास खुसी वा दुःखी देखिन्नन् । कान नसुन्ने उनी पछिल्ला केही बर्ष यता आफ्नै सुरमा एकल कुरा गर्ने भइसकेकी छिन् ।
‘बुढेसकालमा भएपनि आमाले नागरिकता पाउनुभयो’, यसैमा खुसी लागेको छ’, मैनाले प्रतिक्रिया दिइन् । सामाजिक सुरक्षा भत्ता आएपछि आमालाई स्याहार्न अझ सहयोग पुग्ने उनले विश्वास ब्यक्त गरिन् ।
सानैमा बुवाको मृत्यु भएपछि बिचल्लीमा परेका सन्तोष तिवारी नागरिकता पाउँदा औधी खुसी भए । कक्षा १२ सम्म जसोतसो पढेका उनले ड्राइभिङ जानेका छन् । ‘कतै जाऊँ र काम गरुँ भन्दा पनि नागरिकता अनिबार्य माग्थे’, तिवारीले भने–‘मलाई कसले बनाइदिने नागरिकता ? न आफ्ना नातेदार छन्, न कोही ?’ उनले नागरिकताका लागि रुँदै कराउँदै तीनपटक जिल्ला प्रशासन कार्यालय पुगेको सुनाए ।
जिल्ला प्रशासन कार्यालयबाट फर्केपछि यो जुनीमा नागरिकता नबन्ने नै भयो भन्ने टुंगोमा पुगेको सन्तोषले बिहिबार नागरिकता परिचयपत्र आफ्नै गाउँमा पाएपछि खुसी हुँदै भने–‘सायद गाउँगाउँमा सिंहदरबार भनेको यही होला । मैले गाउँबाटै न्याय पाएँ ।’
मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आफै बसेर नागरिकता बिहिनहरुलाई नागरिकता दिलाउन अघि सरेका थिए । उनले नागरिकता बनाउन कठिनाई भोग्दै आइरहेकाहरुलाई प्राथमिकता दिएर सिफारिस गर्न जनप्रतिनिधिलाई भनेका थिए ।
९४ बर्षीय ठूलीमायाँ सुनारलाई नागरिकता परिचयपत्र हस्तान्तरण गर्दै प्रजिअ तामाङले भने–‘२६ बर्षे जागीर अबधिमा आज सबैभन्दा सन्तुष्टि मिलेको छ ।’नागरिकता परिचयपत्र हस्तान्तरण कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष, एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट र वडाअध्यक्ष ध्रुव खड्काले निर्वाचित भएर आइसकेपछि गर्व गर्न लायक काम भएको भन्दै नागरिकता शिविर अन्यत्र पनि सञ्चालन गर्ने बताए ।
शिविरमा ७७ जनाले नागरिकता बनाएका छन् । त्यसैगरी १२० जनाले मतदाताका लागि फोटोसहितको नामावली दर्ता गराएका छन् ।
स्पेशखबरबाट