मध्यरातमा घाँटी रेटेर हत्या
गुगलपाटी संवाददाता हेटौंडा,१३ चैत्रपूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ का करिब ५५ वर्षीय सुर्य बहादुर स्याङ्तानले मंगलबारको बिहानी देख्न पाएनन् । आफ्नै ओछ्यानमा चक्कुले घाँटी रेटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले बताए ।
करिब राती १२ बजे उनको हत्या भएको प्रहरीको अनुमान छ । अनुसन्धानको लागि घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश श्रीमलले हत्याबारे अनुसन्धान सुरु गरिएको बताए । ‘प्रारम्भिक अनुसन्धान सुरु गरेका छौं, शव पोष्टमाटमको लागि हेटौंडा ल्याउन थालेका छौं’, उनले भने ।
गए राती नै हत्या भएको भन्ने खबर आएपछि अनुसन्धानको लागि सुर्यबहादुरकी बुहारी ठुलीमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तान लाई बकैया–३ स्थित हात्तिसुडे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । चौकीका प्रहरी साहायक निरिक्षक जयप्रकाश पाण्डेले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको बताए । हत्याको आरोपमा पक्राउ परेकी ठुलीमायाका श्रीमान भने विदेशमा रहेका छन् ।
हत्या किन गरिएको भन्ने कारण हालसम्म नखुलेको डिएसपी झाले बताए । मृतक सुर्यबहादुरका पाँच जना छोरा रहेका छन् । उनीहरुमध्ये दुई जना बैदेशिक रोजगारीको क्रममा विदेश र तीन जना काठमाण्डौँमा रहेको प्रहरीले जनाएको छ ।