आन्दोलन फिर्तासँगै वीरगन्ज नाकाबाट इन्धन भित्रिए

गुगलपाटी संवाददाता वीरगन्ज
६ आश्विन २०७५ ०५:२४

चालकको हड्तालका कारण वीरगन्ज नाकामा चार दिनदेखि रोकिएको इन्धन ढुवानी शुक्रबार बेलुकादेखि सुचारु भएको छ।

आन्दोलनरत नेपाल स्वतन्त्र यातायात मजदुर संघर्ष समिति र सरकारबीच आठ बुँदे सहमति भएसँगै हड्तालमा रहेका चालक काममा फर्किएका हुन्। भारतको रक्सौलमा रहेको इण्डियन आयल कर्पोरेशन (आइओसी)को डिपोबाट पेट्रोल, डिजेल भरेर शुक्रबार आठबजेसम्म ३० वटा ट्यांकर वीरगन्ज नाका हुँदै नेपाल भित्रिएका हुन्।

निगमका क्षेत्रीय प्रबन्धक जगदीशचन्द्र यादवका अनुसार शुक्रबार साँँझदेखि एलपी ग्याँस बोकेका बुलेट पनि वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गरेका छन् । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले शुक्रबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका ११ वटा ट्यांकर र ग्यासका केही बुलेट वीरगन्ज नाका हँुदै नेपाल प्रवेश गरेको जानकारी दिए।शनिबार बिहानदेखि साविककै परिमाणमा इन्धनको आयात हुने क्षेत्रीय प्रबन्धक यादवको भनाइ छ। चार दिनदेखि इन्धन आयात हुन नसक्दा वीरगन्ज, राजधानीसहित देशका मुख्य सहरमा पेट्रोल, डिजेल र ग्याँसको अभाव भएको छ। नेपालका लागि चाहिने कुल इन्धनको ९० प्रतिशत हिस्सा, वीरगन्ज नाकाबाट नै भित्रिने गरेको छ।