मुख्यमन्त्रीद्वारा रुद्र बाटिकाको अवलोकन
गुगलपाटी संवाददाता हेटौंडा, ६ असोज
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउँपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद रुद्र पाख्रिनको स्मृतिमा निर्मित रुद्र बाटिकाको अवलोकन गर्नुभएको छ ।
अवलोकनका क्रममा उहाँले बाटिकाको विकास लागि योजना बनाउनुपर्ने बताउनुभयो । योजना बनाएर ल्याए प्रदेश सरकारले पार्करुपमा बिकास गर्न बजेट विनियोजन गर्न सकिने बताउनुभयो । मुख्यमन्त्री पौडेलले गाउ“पालिकासंग समन्वय गरेर अगाडि बढ्ने पनि बताउनुभयो ।
उहाँले वाटिकालाई पर्यटकको आकर्षण हुने गरी निर्माण गरिनुपर्ने बताउनुभयो । जग्गाको क्षेत्रफल यकिन गरेपछि गुरु योजना बनाएर प्रत्येक बर्ष नयाँ–नयाँ संरचना निर्माण गरिने बताउनुभयो । यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले व्यवस्थापन, सामाजिक र सांस्कृतिक पक्षलाई ध्यान दिएर वाटिकाको स्तरीकरण गर्नुपर्ने बताउनुभयो । बाटिका व्यवस्थापन समितिका अध्यक्ष मानकुमारी नेपालीले वाटिकाको विषयमा जानकारी दिनुभएको थियो । अवलोकनका क्रममा ३ नम्बर प्रदेश सांसद्वय कुमारी मोक्तान र प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका नेता बद्रि लम्साल, भीम पाख्रिन, मकवानपुरगढि गाउ“पालिकाका प्रमुख प्रशासकिय अधिकृत भीम परियार पनि सहभागि हुनुहुन्थ्यो । वाटिकाको २०६३ सालबाट निर्माण प्रक्रिया सुरु गरिएको थियो ।