हेटौंडाले प्रदेश राजधानी पाउन सजिलो छैन : मुख्यमन्त्री पौडेल
गुगलपाटी संवाददाता हेटौंडा,७ असोजप्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाउन सजिलो नभएको बताएका छन्।
क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा संचालित न्यूज क्लब नेपालको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाउन दबाब दिने गरी कलम चलाउन मकवानपुरका पत्रकारलाई आग्रह गरेका छन् । देशमा भएका हरेक कुरामा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउँदै पौडेलले हेटौंडामै राजधानी कायम गराउन दबाब सिर्जना गराउनुपर्ने उल्लेख गरे ।
उनले मकवानपुरवासीको हालको मिसन भनेको हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाउने रहेको बताए। हेटौंडा स्थायी राजधानीका लागि सबै किसिमबाट उपयुक्त रहेको उल्लेख गर्दै कायम गराउन सबै तहबाट दबाब दिनुपर्ने मुख्यमन्त्री पौडेलले उल्लेख गरे । आइतबारदेखि सुरु गरिएको न्यूज क्लब नेपाल बारे जानकारी गराउँदै क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष धर्मेन्द्र दाहालले पत्रकार सम्मेलन, अन्तरक्रिया, साक्षात्कार लगायतका बहसको लागि फोरम उपलब्ध गराउने बताए ।
न्यूज क्लब नेपालको उद्घाटनको क्रममा प्रालिका अध्यक्ष दाहालले आफ्ना बुवा बेलप्रसाद दाहालको नाममा स्थापना गरेको ग्रामीण सामाजिक पत्रकारिता पुरस्कार र शिव सत्यरुपा आर्थिक पत्रकारिता पुरस्कारको घोषणा गरेका छन् । आउँदो मंसिरमा खबरब्रेक डटकमको वार्षिकोत्सवको अवसर पारेर बेलप्रसाद दाहाल ग्रामिण सामाजिक पत्रकारिता पुरस्कार पत्रकार शिवकुमार काशी र शिव सत्यरुपा आर्थिक पत्रकारिता पुरस्कार पत्रकार रुपेश दुलाललाई प्रदान गरिने उनले बताए । दुवै पत्रकारिता पुरस्कारको राशी नगद दश हजार एक सय एघार रुपैयाँ रहेको छ ।