मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार

गुगलपाटी संवाददाता मनहरी
९ आश्विन २०७५ ०५:०२

मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ ।

सहकारीको १० औँ बार्षिकोत्सवको अबसरमा सार्बजनिक भएको प्रतिवेदनमा गत आर्थिक बर्षमा तीन करोड ७० लाख २ हजार ४ सय ७८ रुपियाँ कारोबार भएको उल्लेख छ ।

सहकारीले ४६ लाख ५० हजार शेयर पुँजी बनाएको छ भने २ करोड १२ लाख ९४ हजार रुपियाँ लगानी गरेको कोषाध्यक्ष हरिशरण अर्यालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक बर्षमा १ करोड ६७ लाख ७६ हजार ८ सय ८३ बचत संकलन गर्न सफल भएको सहकारीले जनाएको छ ।

१० औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले सहकारीलाई मर्जर प्रक्रियामा लैजानका लागि गाउँपालिकाले होमवर्क गरिरहेको बताए । उनले झोलामा बोकेर हिँड्ने नाममात्रका सहकारीलाई आवश्यक परे खारेज समेत गरिने बताए ।

कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष बिजयकुमार बस्नेत, रमन्टार डिपाड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश मुक्तान, राष्ट्रिय सहकारी बैँकका मकवानपुर शाखा प्रमुख रामेश्वर अर्याल, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गोविन्द रिजाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संस्थाका अध्यक्ष शंकरप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको अधिवेसनमा लेखा समिति संयोजक गोविन्द पौडेलले लेखा प्रतिवेदन, कोषाध्यक्ष हरिशरण अर्यालले आर्थिक प्रतिवेदन तथा सचिव बलराम बानियाँले प्रगति प्रतिवेदन पेस गरेका थिए ।

यसैबीच अधिवेसनले पुनः शंकरप्रसाद कालाखेतीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा बिष्ण भट्ट, सचिवमा बलराम बानियाँ, कोषाध्यक्षमा हरिशरण अर्याल चयन भएका छन् । सदस्यहरुमा रामचन्द्र उप्रेती, पशुपति बर्ताैला, ऋचा पराजुली, सुवास सुवेदी र टिकादेवी न्यौपानेलाई चयन गरिएको छ । लेखा समिति संयोजकमा गोविन्द पौडेल, नरहरि सुवेदी र पूर्णकुमारी दराई चयन भएका छन् । त्यसैगरी अनुगमन समिति संयोजकमा बिष्णुराम कालाखेती र सदस्यहरुमा अनिल पौडेल र ताराकुमार सुवेदी रिजाल चयन भएका छन् ।