हेटौंडामा नागरिक सहायता कक्ष स्थापना
गुगलपाटी संवाददाता हेटौंडा,९ असोजनजिकिदै गरेको नेपालीहरुको महान चाड दशैँ, तिहार एवं छठ लगायतका पर्वहरुलाई लक्षित गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
प्रदेश नम्बर तीनको राजधानी समेत रहेको हेटौंडा बसपार्कमा मंगलबार एक कार्यक्रमको बीच नागरिक सहायता कक्ष स्थापना गरिएको हो । प्रहरी नायब निरीक्षक राम आर्यको कमान्डमा बसपार्कमा सहायता कक्षको स्थापना गरिएको छ ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विरेन्द्रकुमार ठाकुरलगायतको उपस्थिति रहेको थियो ।