गाई काटेको अभियोगमा पक्राउ परेकाहरु छुटे

गुगलपाटी संवाददाता मकवानपुर
१३ चैत्र २०७४ १२:५१

केही महिना अगाडि गाई काटेको अभियोगमा पक्राउ परेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का तीन स्थानीयहरु मंगलबार छुटेका छन् ।
जिल्ला अदालत मकवानपुरले माग गरेको धरौटी रकम बुझाएर उनीहरु रिहा भएका हुन् । जिल्ला न्यायाधीश खडानन्द तिवारीको ईजलासले मुद्धामाथि सुनुवाई गर्दै प्रतिवादीद्वय मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई जनही रु. १ लाख ८ हजारका दरले र कान्छीमाया ब्लोनलाई जनही रु. ५४ हजार धरौटीको माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश बमोजिम उनीहरुले धरौटी रकम नगदै जम्मा गरेपछि उनीहरु तारेखमा रिहा भएका छन् । मुद्धाको अन्तिम किनारा नलागेसम्म प्रतिवादीहरुलाई तारेखमा रिहा गरिएको हो ।
यही २०७४ कात्तिक २७ गते बेलुका गाई काटेको अभियोग लागेका हेटौँडा १२ पदमपोखरी रमन्टार बस्ने गाई धनी ५५ वर्षीया कान्छीमाया ब्लोनलाई घटना भएको करिब ५ महिनापछि गएको फागुन १५ गते मंगलबार प्रहरीले पक्राउ गरेको थियो । गाई काटेर खाएको अभियोगमा कान्छीमाया ब्लोनसहित मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेको थियो ।