मुख्यमन्त्री सहित चार मन्त्रीको उत्तरी मकवानपुरमा दौडधुप (फोटो फिचर)
दिपेन्द्र रोक्का थाहा नगरपालिका,असोज ११तीन नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल सहित अन्य चार जना मन्त्रीले आज बिहीबार दिनभर मकवानपुरको उत्तरी क्षेत्रमा बिताएका छन् । तीन नम्बर प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको दश जिल्लामा हिल स्टेशन निर्माण कार्यक्रमको सुरुवात उत्तरी मकवानपुरबाट गर्न उनीहरु त्यस क्षेत्रमा पुगेका हुन् ।
साथै प्रदेश पर्यटन वर्ष र मकवानपुरको उत्तरी थाहा नगरपालिकास्थित घुम्न जाउँ दामन पर्यटन वर्ष २०७५ को पनि आजबाट सुभारम्भ गरिएको छ । मकवानपुरको भीमफेदी, कुन्छाल र चित्लाङलाई समेटेर हिल स्टेश निर्माणको सुरुवात तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरे । मकवानपुरको प्याकेज अन्तर्गत भीमफेदीको मैत्रीबगैचा निर्माण सुभारम्भ गरिएको छ भने कुन्सालको गोपाली गाउँमा होम स्टेको सुभारम्भसँगै चित्लाङमा हिल स्टेश निर्माणको सुभारम्भ गरिएको हो ।
हिल स्टेशन निर्माणको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका १३ जिल्लाका महत्वपूर्ण पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उदेश्यले अभियान सुरु गरिएको बताए । देशको समृद्धिको लागि पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले बताए ।
मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्धनको लागि मुख्यमन्त्री र पर्यटन मन्त्रीसँगै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल र भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा घुम्न जाऔं दामनको सुरुवात गर्न त्यस क्षेत्र पुगेका थिए ।
चालु आर्थिक वर्षभित्र चित्लाङ सहित मन्त्रालयले दोलखाको जिरी, रामेछापको शिवालय लगायत दश स्थानमा हिल स्टेशन निर्माण गर्ने जनाएको छ । एउटा हिल स्टेशनको प्याकेज निर्माणको लागि करिब चार करोड रुपैयाँ खर्च गर्नेगरी बजेट बिनियोजन गरेको मन्त्रालयले पर्यटन क्षेत्रमा मात्र चालु आर्थिक वर्षको लागि एक अर्ब बजेट बिनियोजन गरेको मन्त्रालयका सचिव शिव कुमार वाग्लेले बताए ।
कार्यक्रममा बिभिन्न मन्त्रालयका सचिवहरु, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा लगायत अन्य जनप्रतिनिधिहरु र स्थानीयबासीको सहभागिता रहेको थियो ।