स्थानीय पत्रपत्रिकाः चाडपर्वसँगै तीव्र अनुगमन हुने, दामनलाई पर्यटकीय क्षेत्र बनाउन जुट्यो प्रदेश सरकार
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेश सरकारले ‘घुम्न जाउँ दामन’वर्षको सुरु गरेको र चाडवाड नजिकिएसँगै उपभोक्ता ठगिने क्रम सुरु हुने भन्दै प्रशासनले कडा अनुगमनको तयारी गरेको समाचारलाई प्रमुखताका साथ छापेका छन् ।
३ नम्बर प्रदेश सरकारले प्रदेश पर्यटन गुरुयोजनानिर्माण सुरु गरेको छ । बिहीबार ३९ औं पर्यटन दिवसको सन्दर्भ पारेर औपचारिक रुपमा प्रदेश पर्यटन गुरुयोजना निर्माण सुरु भएको घोषणा गरिएको हो ।
‘घुम्न जाउँ दामन’ भन्ने नाराका साथमा मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार जुटेको छ ।
पर्यटन दिवसको सन्दर्भ पारेर प्रदेश सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकालाई समेटेर गुरुयोजना बनाउने उद्घोष गरेको छ । आजको साझाकुरा दैनिक, हेटौंडा सन्देश र समृद्ध समाज दैनिकले यो समाचारलाई पहिलो पृष्ठमै प्राथमिकताका साथ छापेका छन् ।
त्यस्तै तीनवटै पत्रिकाले चाडवाड सुरु भएसँगै प्रशासनले अनुगमन तीव्र बनाउन लागेको प्रमुख जिल्ला अधिकारीको भनाइसम्बन्धी प्रसङ्गलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा नै छापेका छन् ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सोमबारदेखि आकस्मिक अनुगमन गरिने र दोषी भेटिए तत्काल कारबाही गरिने चेतावनी दिएका छन् ।
उपभोक्तावादी संस्थाका प्रतिनिधि, व्यवसायीका प्रतिनिधि तथा कर्मचारीसमेत अनुगमनमा स्वार्थ केन्द्रित हुने र पूर्वजानकारी गराउने गरेको पाइएको भन्दै प्रमुख जिल्ला अधिकारी तामाङले अब कसैलाई पनि पूर्व जानकारी नगराई आकस्मिक अनुगमन गरिने र दोषी भेटिए कडा कारबाही गरिने चेतावनी दिए ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित पत्रिकाको पहिलो पृष्ठ